२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

गोरखामा एमालेको समानान्तर जिल्ला कमिटी नेकपा (एकीकृत समाजवादी) मा परिणत



गोरखा ।
नेकपा एमालेको समानान्तर जिल्ला कमिटीलाई माधव कुमार नेपालको नेतृत्वमा गठन गरिएको नयाँ पार्टी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को कमिटीमा परिणत गरिएको छ।

नेकपा एमालेमा दूई धार भएको वेला सवैभन्दा पहिले जिल्ला स्तरमा समानान्तर गतिविधी गोरखाबाट सुरु भएको थियो । जिल्ला अध्यक्ष यादव बस्नेतका अनुसार तत्कालिन एमालेको समानान्तर कमिटिहरुमा पार्टी जिल्ला कमिटिका १२१ जना, युवा संघका १७० जना, अनेरास्ववियूका ५५ जना तथा विभिन्न जनंगठनका केन्द्रिय तथा जिल्ला कमिटिका सदश्यहरु एकीकृत समाजवादीमा सक्रिय हुनेछन ।

एकीकृत समाजवादीले गोरखामा तीव्र गतिमा वडा-वडा सम्म संगठन विस्तार गर्नुका साथै जनताका समस्यामा साथ दिने अध्यक्ष बस्नेतले बताए । उनले भने, ‘ओली प्रवृतिलाई धक्का दिनेगरि संगठन विस्तार हुँदै छ । कम्युनिस्ट आन्दोलनका धरोहरहरुको सम्मान गरि सिंगो कम्युनिस्ट आन्दोलनलाई जोगाउन पहल थालिने छ ।’

प्रदेश सचिवालयमा हरि काफ्ले, बिश्वेश्वर कट्टेललगायतका नेता रहेका छन् भने जिल्ला पार्टी सचिवालयमा अध्यक्ष बस्नेत, जुद्वबिलाष भण्डारी, टेकराज भट्ट, सानुमाया बस्नेत, कृष्णमान श्रेष्ठ, रज्मदिन मिया, नारायणध्वज खड्का, द्रोण तिमिल्सिना, अमृत काराखेती, सिताराम बुढाथोकी, कल्पना कुवँर, प्रदिप क्षेत्री, भोला श्रेष्ठ, तिलव बानियाँ, सुरेश अंगाइ, गिरीधारी सापकोटालगायतका नेता रहेका छन् ।

एकीकृत समाजवादीले जिल्लाको एघार वटै स्थानीय तहमा समेत पार्टी कमिटि निर्माण गरेको छ । उनीहरूको केहि दिनमा बैठक बसि औपचारिक रूपमा घोषणा गर्ने योजना रहेको जिल्ला पार्टीले जनाएको छ । जिल्ला तहका जनबर्गिय सङ्गठनले समेत विज्ञप्ति निकाल्दै नयाँ पार्टीमा रूपान्तरण भएको सन्देश दिने तयारी समेत गरेको सो पार्टीको दावी छ ।

नेपालपक्षले भने जिल्लामा कमजोर रहेको एमालेबाट निर्वाचित भएका १४ वाअध्यक्षमध्ये २ वटा अध्यक्ष मात्रै खुलेको दावी गरेका छन् । जिल्लाको २ नगरपालिकाका २४ र गाउँपालिका ७० वडामध्ये आरूघाट गाउँपालिकाका-५, का वडाअध्यक्ष खड्का र वडा न ८ का रणबहादुर बराम नयाँ पार्टीमा खुलेका छन् । उनीहरू समान्तर कमिटिमा समेत थिए ।

प्रकाशित मिति : १२ भदौ २०७८ शनिबार ००:००  ९ : ५३ बजे