काठमाडौं ।
सेर्गी रोबर्टो र मेम्फिस डिपाएको गोलमा बार्सिलोनाले आइतबार राति स्पेनिस ला लिगामा गेटाफेलाई २–१ ले हराएको छ । लिगमा बार्सिलोनाको यो दोस्रो जित हो ।
घरेलु मैदान क्याम्प नोउमा बार्सिलोनाले दोस्रो मिनेटमै रोबर्टोको गोलबाट अग्रता लिएको थियो । रोबर्टोले जोर्डी अल्बाको क्रसलाई पोस्टको दिशा दिएका हुन् । १८औँ मिनेटमा भ्रमणकारी गेटाफेका सान्ड्रो रामिरेजले बराबरी गोल फर्काए ।
३०औँ मिनेटमा डिपाएले गरेको गोल बार्सिलोनाको जितमा निर्णायक बन्यो । फ्रान्सको क्लब लियोनबाट यसै सिजन बार्सिलोना आएका डिपाएको लिगामा यो दोस्रो गोल हो । यसअघि एथलेटिक बिल्बाओसँग १–१ को बराबरी खेल्दा पनि डिपाएले गोल गरेका थिए ।
लियोनल मेसीलाई पीएसजीमा पठाएको बार्सिलोना तीन खेलबाट सात अङ्क जोड्दै चौथो स्थानमा छ । समान सात अङ्क जोडेको रियाल मड्रिड शीर्ष स्थानमा छ । अङ्कविहीन गेटाफे रेलिगेसन क्षेत्रमा छ ।







प्रतिक्रिया