वडाको फोहरमैला ब्यवस्थापनमा अब नगरको मुख नहेरौँः वडाध्यक्ष क्षेत्री


मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाको वडा नम्बर ४ का वडाध्यक्ष गणेश बहादुर क्षेत्रीले वडाको सरसफाई र फोहरमैला ब्यवस्थापनमा एक्सनमा काम गर्ने बताउनु भएको छ । चालु आर्थिक बर्षको सुरुदेखि नै सरसफाइमा विशेष ध्यान दिइएको भन्दै उहाँले अब नतिजामुखी काम गर्नुपर्ने बताउनु भएको हो ।

यसैको लागि वडाध्यक्ष क्षेत्रीले वडा कार्यालय गजेहडामा मंगलबार वडा सदस्य, टोल विकास समितिका अध्यक्ष र कुलापानी समितिका वडघरहरुसंग छलफल गर्नुभएको छ । वडामा उत्पादन हुने फोहर, ढल निकास, कुलोमा बग्ने फोहर, बाटाघाटामा रुखविरुवा रोप्ने र गाईवस्तु बाटोमा बाँध्ने लगायतका कामहरुका बारेमा ठोस योजनासहित एक्सनमा काम गर्न टोल समिति र कुलापानी समितिलाई सुझाउनुभयो । उहाँले भन्नुभयो ‘अब वडामा जताततै फोहर देखिन हुन्न । गाइवस्तु बाटोमा बाँध्ने र रुख विरुवा रोप्ने गरेको देखियो । अब यसरी भएन । तपाईहरुले प्रत्येक टोलबासीलाई यो भन्नुहोस् ।’

स्थानीय सरकार आएको चार बर्षको अवधिसम्म नगरमा सरसफाइ र फोहरमैलाको उचित ब्यवस्थापन हुन नसक्दा आफूहरु आलोचित हुनु परेको भन्दै नगरको मुख नहेरी वडामा काम गर्न उहाँले सबैमा आग्रह गर्नुभयो । अब नगरले के गर्दछ भन्ने होइन । वडामा देखिने गरी तपाईहरुले काम गर्नुस् । वडाले पनि केही नियम बनाउँछ । त्यो पालना नगर्नेले वडाबाट पाउने सेवा सुविधा पाउँदैन ।’

छलफलमा वडा सदस्य चित्र बहादुर खाँण, क्रषिराम थारु, इन्दिरा पन्त, अस्मिता नेपाली, टोल विकास समितिका अध्यक्षहरु भेषराज आचार्य (गजेहडा), हरिप्रसाद पौडेल (ठाकुरापुर), ढाल बहादुर शाही (हरिहरपुर), बुद्धि बहादुर रोकाहा (सिद्धिपुर), हर्क बहादुर हमाल (झुँगा) खिल प्रसाद शर्मा (दरखास्त) सहभागी हुनुहुन्थ्यो भने सोही वडा अन्तर्गतका कुलापानी समितिका वर्डघरहरुको सहभागिता थियो ।

छलफलमा कुलोमा धेरै फोहर बगेर आउने भएको हुँदा दरखास्त, सिद्धिपुर, गजेहडा, ठाकुरापुर एरियामा पर्ने मुख्य कुलोमा फलामको जाली लगाउने निर्णय समेत भएको छ । यसो गर्दा कुन टोलले कुलोमा फोहर फाल्यो पहिचान गर्न सजिलो हुने ठाकुरापुर टोल विकास समितिका अध्यक्ष हरि पौडेलले मायादेवी अनलाइनसंग बताउनु भयो ।

यस्तै टोलका फोहर ब्यवस्थापन गर्नको लागि नगरको ट्याक्टर गाउँगाउँमा डुलाउने विषयमा पनि छलफल भएको छ । नगरले फोहरमैला ब्यवस्थापनको लागि ट्याक्टर खरिद गरे पनि अहिले थन्किएर बेकामे छ । सोही ट्याक्टरलाई परिचालन गरेर अब फोहर ब्यवस्थापन गर्नुपर्नेमा सबै टोल विकास समितिका अध्यक्षको धारणा छ ।

यसमा वडा कटिबद्ध रहेको भन्दै वडाध्यक्ष क्षेत्रीले नगरले ट्याक्टर नदिए कडा कदम चाल्ने चेतावनी दिनुभयो । यो आर्थिक बर्ष आफ्नो अन्तिम बर्ष भएकाले अपुरा काम र योजनाहरुमा देखिने गरी नतिजा दिने उहाँले मायादेवी अनलाइनसंग दावी गर्नुभयो ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस