११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

आजदेखि चाडपर्व लक्षित अनुगमन



काठमाण्डौ ।

सरकारले चाडपर्वलाई लक्षित गरी आजदेखि संयुक्त रूपमा बजार अनुगमन गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयको संयोजनमा हुने अनुगमनमा सबै नियमनकारी निकाय सामेल हुनेछन् । गएको असोज एक गतेदेखि नै अनुगमन टोली खटाएकोमा आजदेखि चाडपर्व लक्षित अनुगमन गर्न लागेको वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले जानकारी दिनुभयो ।

अनुगमनमा जिल्ला प्रशासन कार्यालय, वाणिज्य, खाद्य, गुणस्तरदेखि औषधि विभागका प्रतिनिधिहरू सहभागी हुनेछन् । उहाँका अनुसार अनुगमन टोलीले आवश्यकताअनुसार सहुलियत पसलसहित विभिन्न क्षेत्रको अनुगमन गर्नेछ ।

यस्तो अनुगमन प्रदेश सरकार र पालिकाले पनि गर्नेछन् । गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई चाडपर्व लक्षित अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन पनि दिइसकेको छ ।

यस्तै विभागले, नापतौल र गुणस्तरबारे हुने ठगीबाट बच्न गुणस्तर तथा नापतौल विभागले एक हप्ताको सचेतना कार्यक्रम सञ्चालन गर्ने समेत जनाएको छ । काठमाण्डौ महानगरपालिकाले पनि दैनिक अनुगमन गर्ने जनाएको छ । अनुगमनकै लागि महानगरले विभागसँग प्रतिनिधि माग गरेको छ । विभागका प्रवक्ता शिवराज सेढाईँका अनुसार अनुगमन गर्न सामान्य प्रशासन मन्त्रालयबाट १०र१२ जना कर्मचारी थपिएका छन् । दशैँमा धेरै कारोबार हुने वस्तु, लत्ताकपडा, मसला, खाद्यन्न, मासु पसलमा अनुगमन गरिरहेको उहाँले बताउनुभयो ।

अनुगमनको क्रममा मुख्यतः बिलबिजक र स्टिकरको समस्या देखिएको उहाँले बताउनुभयो । त्यस्ता व्यवसायीलाई ५ हजारदेखि २० हजार रुपैयाँसम्म जरिबाना हुने उहाँको भनाइ छ । यसैबीच बजारमा चिनी लगायतका खाद्यवस्तुको अभाव नभएको विभागले जनाएको छ । चाडपर्व सुरु भएसँगै बजारमा चिनी लगायतका केही खाद्यवस्तुको अभाव भएको भन्ने हल्ला फैलाएको भन्दै त्यसतर्फ ध्यानाकर्षण भएको विभागले जनाएको छ । विभागका अनुसार बजारमा तीन महिनाभन्दा धेरै अवधिलाई पुग्ने चिनीको स्टक छ । तीन महिनासम्मका लागि मौज्दात भएकाले आत्तिएर अहिलै सञ्चित गरेर नराख्न विभागले आग्रह गरेको छ।

प्रकाशित मिति : ७ आश्विन २०७८ बिहिबार ००:००  ९ : १९ बजे