१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

राष्ट्रिय फोटो पत्रकार समूहको अध्यक्षमा राससका वन्त



काठमाण्डौ ।
राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपाल को केन्द्रीय अध्यक्षमा राष्ट्रिय समाचार समिति (रासस) का प्रदीपराज वन्तसहित १३ सदस्यीय कमिटी निर्विरोध चयन भएको छ।

राष्ट्रिय फोटो पत्रकार समूह, एनएफपीजे नेपालको १२ औँ केन्द्रीय अधिवेशन तथा २५ औँ वार्षिकोत्सव रजत जयन्ती सम्पन्न भएको छ ।

अधिवेशनले वन्तको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ भने दुई केन्द्रीय सदस्य केन्द्रीय कमिटीले मनोनित गर्ने छ । राजेन्द्र चित्रकारको संयोजकत्वमा रहेको तत्कालीन कार्यसमिति भङ्ग गरी निर्विरोध नयाँ कार्यसमिति चयन गरिएको हो ।

वरिष्ठ उपाध्यक्षमा रातोपाटीका कृष्ण खड्का, महिला उपाध्यक्षमा राससकी भगवती थापा, महासचिवमा हिमालय टाइम्सका नवराज श्रेष्ठ, कोषाध्यक्ष न्यूभिजन मिडियाका सागर श्रेष्ठ, सचिव रिपोटर्स नेपालका मुकुन्द कालीकोटे रहनुभएको छ ।

त्यस्तै केन्द्रीय सदस्यमा नयाँ पेजका प्रवीण कुलुङ राई, अन्नपूर्ण टाइम्सका घनश्याम श्रेष्ठ, बाह्रखरीका हरिशसिंह नगाल, अनलाइनखबरका आर्यन धिमाल, थाहाखबरकी शीला तिमिल्सिना, नेवाः टाइम्सकी रमिता छुँजु र प्रभाव दैनिकका प्रदीपकुमार श्रेष्ठ चयन हुनुभएको छ ।

कार्यक्रममा एनएफपीजे हरि गोपाल फोटो पत्रकारिता पुरस्कार २०७६र७७ बाट मनोरञ्जनतर्फ नवराज वाग्ले र कपिल खड्का, खेलकुद विधामा सत्यम श्रेष्ठ र उज्जवल डङ्गोल, पर्यापर्यटनतर्फ नारायण सिलवाल र प्रेम थापा, संस्कृति सम्पदातर्फ शोभा महर्जन र प्रदीप शाक्य तथा साहासिकतर्फ मुकुन्द कालीकोटे र पूर्णिमा श्रेष्ठलाई प्रमाणपत्र र चाँदीको तक्मा प्रदान गरिएको थियो ।

पूर्व सशस्त्र प्रहरी नायब महानिरीक्षक माधव थापाका नाममा स्थापना गरिएको माधव थापा जोखिमपूर्ण फोटो पत्रकारिता पुरस्कार शिलापत्रका फोटो पत्रकार सुशीलकुमार श्रेष्ठलाई नगद १० हजार रुपैयाँसहित प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले बधाई तथा शुभकामना मन्तव्य राख्नुभएको थियो भने काठमाण्डौ फोटोग्राफर सङ्घका अध्यक्ष डिगम्बर राजवंशी, पूर्वअध्यक्ष विकास रौनियार र कविन्द्रमान शाक्यले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो ।

निर्वाचन प्रक्रियामा व्यवसायी तथा समाजसेवी नारायण श्रेष्ठ, पत्रकार माधव बराल र पूर्वअध्यक्ष कविन्द्रमान शाक्यको निर्वाचन कमिटीले सहयोग गरेको थियो ।

प्रकाशित मिति : ७ आश्विन २०७८ बिहिबार ००:००  १ : १४ बजे