१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

यी हुन नेकपा (एस) कपिलवस्तुको जिम्मेवारी पाउने नेताहरु (सूचिसहित)



मायादेवी अनलाइन, चारनम्बर ।
नेकपा (एकीकृत समाजवादी) कपिलवस्तुले पदाधिकारी लगायत सिंगो जिल्ला कमिटी घोषणा गरेको छ । शुक्रबार वाणगंगामा बसेको प्रथम जिल्ला कमिटी बैठकले लंका बहादुर हमाल अध्यक्ष रहेको ७७ सदस्यिय जिल्ला कमिटी घोषणा गरेको हो ।

गएको भाद्र ४ गते बसेको भेलाले हमाललाई नेकपा (एस) को जिल्ला संयोजक र तीन वटै प्रतिनिधिसभामा क्षेत्रिय संयोजक तोकेको थियो ।

शुक्रबारको पहिलो बैठकले उपाध्यक्षमा गीता अन्जान, नेत्रलाल खनाल, सचिवमा सर्वेन्द्रदेव खनाल, उप सचिवमा ओमप्रकाश कुर्मीलाई सर्वसम्मत चयन गरेको हो ।

नेकपा (एस)को विधानले तीन निर्वाचन क्षेत्र रहेको जिल्ला कमिटी ७७ सदस्यिय रहने व्यवस्था गरेको छ । सोही अनुसार नेकपा (एस)ले जिल्ला कमिटी चयन गरेको पार्टीका अध्यक्ष हमालले बताउनुभयो ।

यस्तै बैठकले विभिन्न नेतालाई जिम्मेवारी प्रदान गरेको छ । प्रतिनिधि सभा १ को इन्चार्जमा उपाध्यक्ष समेत रहनुभएका खनाल, प्रतिनिधिसभा २ को इन्चार्जमा उपाध्यक्ष समेत रहनुभएकी अन्जान र प्रतिनिधिसभा ३ मा उप–सचिव समेत रहनुभएका कुर्मीलाई क्षेत्रिय इन्चार्जको जिम्मेवारी तोकेको छ ।

६ प्रदेश निर्वाचन क्षेत्र मध्ये प्रतिनिधिसभा १ को ‘ख’ मा जिल्ला सदस्य समेत रहनुभएका फैजल खाँनलाई प्रदेश निर्वाचन क्षेत्रिय इन्चार्जको जिम्मेवारी प्रदान गरिएको छ । अरु ५ क्षेत्रको इन्चार्ज आगामी बैठकले तोक्ने पार्टीले जनाएको छ ।

यस्तै १० पालिका मध्ये वाणगंगा नगरपालिकाको अध्यक्षमा दिपक पन्थी, इन्चार्जमा कमल भट्टराई, शिवराज नगरपालिकाको अध्यक्षमा सरोज पौडेल, इन्चार्जमा छविलाल शर्मा, कृष्णनगर नगरपालिकाको अध्यक्षमा इन्तेयाक खाँ, मायादेवी गाउँपालिकाको अध्यक्षमा सकिल अहमदलाई जिम्मेवारी प्रदान गरिएको छ । अरु स्थानीय पालिकामा पछि जिम्मेवारी प्रदान गरिने नेकपा (एस) प्रचार विभागले जनाएको छ ।

यस्तै जनबर्गिय संगठन अन्तरगत अनेरास्ववियू कपिलवस्तुको अध्यक्षमा दिपक अनुरागी, युवा संघ नेपालको जिल्ला अध्यक्षमा कृष्ण कार्की, अनेमसंघको जिल्ला इन्चार्जमा गीता अन्जान, मुस्लिम इत्तेयाक संगठनको जिल्ला इन्चार्जमा एमडी हुसेनलाई जिम्मेवारी बैठकले दिएको छ ।

नेकपा (एस)को प्रचार विभागको जिम्मेवारी विकास बञ्जाडेले पाउनुभएको छ ।

अध्यक्ष हमालले पदपूर्ती नभएको स्थानमा तत्काल जिम्मेवारी तोकिने जानकारी दिनुभयो । अब पार्टी सुदृढीकरणको अभियान जिल्लामा सुरु भएको भन्दै उहाँले गाउँ गाउँ गएर संगठन निर्माणलाई जोड दिने उहाँले बताउनुभयो ।

बैठकमा नेकपा (एस) का लुम्बिनी प्रदेश सदस्य क्षेत्र बहादुर खत्री, अहमद अब्दुल रउफले सम्बोधन गर्दै नेपालको कम्युनिष्ट आन्दोलनलाई जीवन्त राख्न पार्टीलाई पुर्नः गठन गरिएको बताउनुभयो ।

यो पनि नेकपा (एस) बाणगंगाको इन्चार्जमा भट्टराई र अध्यक्षमा पन्थी

नेकपा (एस) शिवराजको इन्चार्जमा शर्मा, अध्यक्षमा पौडेल

प्रकाशित मिति : ८ आश्विन २०७८ शुक्रबार ००:००  ६ : ४८ बजे