५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

स्वास्थ्यराज्यमन्त्री श्रेष्ठ : वर्तमान सरकारले तीन महिनामा एक करोड जनालाई खोप दिइसक्यो




काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले वर्तमान सरकारले करिब तीन महिने कार्यकालमा एक करोड जनालाई कोरोनाविरुद्धको खोप लगाएको बताएका छन्।

विश्व मुटु दिवसको अवसर पारेर बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले भने‚ ‘करिव तीन महिनाको अवधिमा एक करोड थप खोप लगाइसकिएको जानकारी गराउन चाहन्छु‚ किनभने हामीले १ करोड ७७ लाख खोप ल्याइसकेका छौं।’

राज्यमन्त्री श्रेष्ठले अहिले दैनिक तीन लाख जनतालाई खोप दिइरहेको बताउँदै दशैंअघि ३३ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने प्रतिवद्धता जाहेर गरे। साथै‚ उनले आगामी बैशाखसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप दिइसक्ने तयारी गरिरहेको बताएका छन्।

‘हाल आएर एक दिनमा तीन लाख जनतालाई खोप लगाएका छौं। फ्रन्ट लाइनरहरुलाई खोपमा उच्च प्राथमिकता दिइएको छ‚’ उनले भने‚ ‘१४ वटा हिमाली जिल्लाहरुमा १८ वर्ष भन्दा माथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने अभियानलाई सुरु गरिएको छ। बालबालिकाहरुका लागि पनि एक करोड खोपको सुनिश्चित गरिएको छ।’

राज्यमन्त्री श्रेष्ठले मुटु रोग, क्यान्सरजस्ता दीर्घ रोगहरुको उपचार निःशुल्क रुपमा गर्ने गरी सरकारी अस्पतालहरुको सुधार गर्न सरकार लागि परेको बताए।

प्रकाशित मिति : १३ आश्विन २०७८ बुधबार ००:००  २ : २५ बजे