५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

बिद्यालय बन्द गरी दलको अधिवेशनमा शिक्षक



कपिलवस्तु ।
कपिलवस्तुको शिवराज नगरपालिकाका शिक्षक नेपाली कांग्रेसको निर्वाचनमा खटिए पछि पढाई प्रभावित भएको छ।

कोभिड-१९ का कारण बन्द भएको बिद्यालयमा भौतिक दुरी कायम गरि पढाई संचालन हुँदै गर्दा बिद्यालय बन्द गरि कांग्रेसको अधिवेशनमा सहभागी भएको पाइएको छ।

स्रोतका अनसार नेपाल आदर्श माध्यमिक बिद्यालय शिबपुरका ६ जना शिक्षक नै अधिवेशन गराउन खटिएका छन्।

विद्यालयका प्रधानाध्यापक मुक्ति पोखरेलसहित शिक्षक मोहन पोख्रेल, कमल पौडेल, जीवन खनाल, भिमार्जुन पौडेल, लिला बहादुर घर्ती कांग्रेस अधिवेशन मै व्यस्त भएका छन्।

एउटै बिद्यालयका धेरै शिक्षक राजनैतिक दलको कार्यक्रममा सहभागी हुँदा नगरपालिका समेत मौन बसेको छ।

यसैगरि नेपाल राष्ट्रिय मावि चन्द्रौटाका प्रधानाध्यापक बलदेव लामिछाने, मैनार प्राविका प्रधानाध्यापक देब बहादुर जिसि, सरस्वती निमाविका शिक्षक डिलाराम गैरे सहित अन्य विद्यलयका शिक्षकहरू पढाइ ठप्प गरि कांग्रेशको निर्वाचनमा खटिएका थिए।

शिक्षा विकास तथा समन्वय इकाइको मिति २०७८/०६/०७ गतेको विज्ञप्ती अनुसार सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू विभिन्न राजनितिक पार्टीमा सम्लग्न सक्रिय रूपमा पार्टीको कार्यकारी पदमा रहि काम गरेको वा राजनितिक पार्टीको अधिवेशनमा भाग लिई सक्रिय राजनितिमा सहभागी भई विद्यालयको पठन पाठन प्रभावित भएको प्रेस विज्ञप्ति मार्फत ध्यानाकर्षण भएको जनाएको थियो।

शिवराज नगरपालिका अन्तर्गत कार्यरत शिक्षकहरूले उक्त पत्रको बेवास्त गर्दै चुनावमा सहभागीता जनाएका छन् ।

शिक्षा ऐन २०२८ (संशोधन सहित) को दफा १६ (ङ) उपदफा ५ को “छ” मा उल्लेखित व्यवस्थाले शिक्षकहरू पार्टीको काममा सक्रिय हुने विषेशलाई निषेध गरेको छ।

कुनैपनि सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूले पार्टीको स्रकिय राजनितीमा सहभागी देखियो भन्ने शिक्षा नियमावली २०५९ (संशोधनसहित) को परिच्छेद २३, नियम १३८ को उपनियम (१) बमोजिम कारवाही हुने व्यस्था रहेपनि सरोकारवाला निकाय मौन बसेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७८ शुक्रबार ००:००  ९ : १४ बजे