८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसमी फ्लुका बिरामी बढ्न थाले



काठमाण्डौ ।
आवश्यक सावधानी अपनाउन नसक्दा मौसमी फ्लुका बिरामी बढ्न थालेका छन् । टेकु अस्पताल, शिक्षण अस्पतालसहित विभिन्न अस्पतालमा कोरोनासँग लक्षण मिल्दोजुल्दो तर मौसमी फ्लुका बिरामी बढ्न थालेका हुन्।

गर्मी हटेर चिसो सुरु थालेको यो बेलामा मौसमी फ्लुको जोखिम धेरै हुने भएकाले सावधानी अपनाउन डाक्टरले सुझाव दिएका छन् । तापक्रममा हुने घटबढका कारण मौसमी फ्लुको जोखिम धेरै हुने जनस्वास्थ्यविद्को भनाइ छ । जनस्वास्थ्यविद् डा।बाबुराम मरासिनीका न्यूनतम र अधिकतम तापक्रममा धेरैको अन्तर हुँदा मौसमी फ्लुको जोखिम हुन्छ ।

हिजो आज बिहान बेलुका चिसो र दिउँसो तातो हुन्छ । मौसम परिवर्तनको क्रममा देखिने फ्लुका कारण विगतका वर्षमा कतिपयको ज्यान समेत गएकाले विशेषगरी वृद्ध, दम तथा श्वासप्रश्वासका रोगी, ज्येष्ठ नागरिक, गर्भवती, बालबालिका, अङ्ग प्रत्यारोपण गरेका व्यक्तिले आफ्नो स्वास्थ्यमा ध्यान दिनुपर्ने डाक्टर मरासिनीको भनाइ छ ।

बढी जोखिममा रहेको समूहलाई मौसम अनुसार लवाइ–खवाइमा ध्यान दिन उहाँको सुझाव छ । मौसमी फ्लुका बिरामीमा रुघाखोकी, ज्वरो आउने, टाउको दुख्ने, घाँटी दुख्ने, शरीर दुख्नेजस्ता लक्षण देखिन्छ । यस्ता लक्षण देखिएमा परिवारका सदस्यको निगरानीमा छुट्टै बस्न, सङ्क्रमितले मास्कको अनिवार्य प्रयोग गर्न, हाच्छ्युँ गर्दा, खोक्दा मुख छोप्न, भीडभाडमा नजान र अलि गाह्रो महसुस भए अस्पताल जान पनि डाक्टरको सुझाव छ।

प्रकाशित मिति : १४ कार्तिक २०७८ आइतबार ००:००  १ : ३९ बजे