२९ बैशाख २०८१, शनिबार | Sat May 11 2024

कपिलवस्तुका मासु र डेरी पसलमा अनुगमन, मापदण्ड पुरा गर्न सुझाव



मायादेवी अनलाइन , वाणगंगा ।
स्थानीय पालिकाले चाडपर्व केन्द्रित गरी बजार अनुगमन गरिरहदा जिल्ला स्थित सरकारी कार्यालयले पनि अनुगमन तिव्र बनाएका छन् । दशै तिहार जस्ता चाडपर्वमा उपभोक्ताको स्वास्थ्यलाई ख्याल गर्दै उपभोग्य बस्तुको स्वच्छता र गुणस्तर कायम राख्न विभिन्न निकायले बजार अनुगमन गरेका छन् ।
सोमबार विहानै देखि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कपिलवस्तुको टोलीले पूर्व पश्चिम राजमार्ग क्षेत्रका पसलहरुमा अनुगमन गरेको छ । कार्यालयका विज्ञ सहितको टोलीले जिल्लाको पिपरा, चारनम्बर, गोरुसिंगे, इमिलिया, बनकट्टी र चन्द्रौटाका मासु पसल र डेरी पसलमा छड्के अनुगमन गरेको डा. गणेश बहादुर पुनले जानकारी दिनुभयो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कपिलवस्तुका पशु विकास अधिकृत डा. पुनले मापदण्ड विपरित संचालन भइरहेका मासु पसल र डेरी पसललाई पहिलो पटक सचेत गराउदै आवश्यक सुझाव दिइएको बताउनुभयो । उहाँले केही मासु पसलहरुले खुला रुपमा विक्री वितरण गरिरहेको, न्यूनतम सरसफाई समेत नगरेको, बधस्थल र विक्री कक्ष एकै ठाँउ गरेको, पसलमा टायल, मार्वल तारजाली समेत नराखेको अनुगमनमा पाइएकोले सुझाव दिइएको बताउनुभयो । साथै पसलहरुमा मूल्यसूची अनिवार्य हुनुपर्ने भएपनि अधिकांशले नराखेको र कतिपय पसलमा परम्परागत काँटा समेत रहेको पाइएको छ ।
डा.पुनले मासु र डेरी पसल संचालनको लागि कोल्ड चैन म्यान्टेनेन्स अनिवार्य भएको बताउदै उपभोग्य बस्तुको गुणस्तर कायम राख्न भाडाकुडा सफा राख्नुपर्ने सुझाव दिनु भएको छ । मासुपसलहरु मार्वल टायल, सिसा जाली लगाई व्यवस्थित रुपमा संचालन गर्नुपर्ने र पसलको नियमित सफाइमा विशेष ध्यान दिन अनुगमन टोलीले सुझाव दिएको छ । खासगरी पिपराको हाटबजारमा खुला रुपमा मासु विक्री वितरण गरेको पाइएकोले तत्काल रोक्नुपर्ने बताएको छ । धुलो धुवा र फोहोरबाट संक्रमण हुने भएकाले मासुको खुला विक्री वितरण एकदमै हानिकारक हुने भएकाले यसतर्फ उपभोक्ता र सरोकारवाला निकाय सजग हुन आग्रह गरेको छ ।
अनुगमन टोलीका सदस्य महिला विकास अधिकृत रुची श्रीवास्तवले बजार अनुगमनमा मादण्डलाई सुधार गरेर जानुपर्ने बताउनुभयो । अनुगमनमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी सहायक निरिक्षक रामु पौडेल, पशु सेवा विज्ञ केन्द्रका प्राविधिक सहायक माधव प्रसाद पौडेल, पत्रकार लगाएतको सहभागीता रहेको थियो । अनुगमन टोलीले १३ वटा मासु पसल र ५ वटा डेरी पसल संचालन गरेको थियो । गोरुसिंगेको एक मिट सप र ग्लोबल डेरी उद्योग व्यवस्थित र मापदण्ड अनुरुप संचालन भइरहेको पाइएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७८ सोमबार ००:००  ६ : २० बजे