११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

आज सुनको भाउ तोलामा १५ सय रुपैयाँ बढ्यो



काठमाण्डौ ।
यो तिहारमा सुन चाँदीको कारोबार पुरानै लयमा फर्किएको छ । पोहोर कोरोनाको कारण सुन चाँदीको कारोबार ठप्प भएको थियो ।

यसपालि कोरोना भाइरसको सङ्क्रमण केही कम भए पछि उल्लासका साथ दशैँ तिहार मनाइएकाले सुन चाँदीको कारोबार पनि बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यकाअनुसार तिहारको चाररपाँच दिन अघिदेखि नै सुनको माग दैनिक ४० किलो थियो भने चाँदीको माग दैनिक दुई हजार किलो थियो ।

तिहार सुरु भए पछि पनि कारोबार यही गतिमा भएको उहाँले बताउनुभयो । कोरोना भाइरसको सङ्क्रमण अघि सुन चाँदीको यस्तै कारोबार हुने गरेको थियो । तर कोरोना भाइरसको सङ्क्रमण फैलिन थाले पछि सुन चाँदीको कारोबार ठप्प भएको थियो ।

ठप्प जस्तै भएको सुन चाँदीको कारोबार फेरि पुरानै अवस्थामा फर्किए पछि व्यवसायी उत्साहित भएका छन् । यसपालिको दशैँ र तिहारमा सुन पसलमा ग्राहकको भीड थियो ।

यस्तै, आज सुनको भाउ तोलामा १५ सय रुपैयाँले बढेको छ ।

लक्ष्मी पूजाको दिन तोलामा ९१ हजार रुपैयाँ रहेको सुनको भाउ आज एकै पटक तोलामा १५ सय रुपैयाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घकाअनुसार आज सुनको भाउ तोलामा ९२ हजार ५ सय रुपैयाँ पुगेको छ ।

यस्तै, आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर तोलाको १२ सय ५० रुपैयाँमा पुगेको छ । सार्वजनिक बिदा सकिएलगत्तै आजदेखि सुन चाँदीको मूल्य तोक्न थालिएको हो ।

प्रकाशित मिति : २२ कार्तिक २०७८ सोमबार ००:००  १२ : ३२ बजे