२ असार २०८२, सोमबार | Mon Jun 16 2025

कमेडी च्याम्पियन २ का बिक्की अग्रवाललाई मातृशोक



काठमाडौं ।

‘कमेडी च्याम्पियन २’ का फस्ट रनरअप विक्की अग्रवाललाई मातृशोक परेको छ । उनकी आमा दुर्गा मगरको मंगलबार काठमाडौंमा निधन भएको हो। विक्की र उनकी आमा दुर्गा नेपालको तिहार हेर्न तथा छोरालाई सेटल गराउन भनेर भाइटीकाको दिन नेपाल आएका थिए।

मंगलबार करिब ३ बजे विक्की मिटिङका लागि भन्दै आमालाई छाडेर कोठाबाट निस्किएका थिए। तर, बेलुकी ७ बजे कोठामा फर्किँदा उनकी आमा अचेत अवस्थामा फेला पारेको कलाकार मनोज गजुरेलले भने।

‘आमालाई अचेत अवस्थामा भेटेपछि उनलाई तत्काल उपचारका लागि चावहिलको मेडिकेयर अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुर्‍याएलगत्तै उनलाई डाक्टरहरुले मृत घोषित गरेको थियो। उनी उच्च रक्तचाप र मधुमेहको बिरामी थिइन्’, गजुरेलले भने।

भारतको सिक्किम निवासी विक्की काठमाडौंमै सेटल हुन भनेर आएका थिए।

घटनाबारे थाहा पाएपछि बिक्कीका बुबा र दाजु नेपाल आएर आज बेलुका ४ बजे दुर्गाको शवलाई सिक्किम लगेको ‘कमेडी च्याम्पियन २’का जजसमेत रहेका गजुरेलले जानकारी दिए। यसअघि ‘कमेडी च्याम्पियन २’ को फाइनलमा छोराको प्रस्तुति हेर्नका लागि दुर्गा नेपाल आएकी थिइन्। करिब ६० वर्षिया दुर्गाको अन्तिम संस्कार सिक्किममै गरिने भएको छ।

प्रकाशित मिति : २४ कार्तिक २०७८ बुधबार ००:००  ६ : ३३ बजे