७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

कृषि क्षेत्रको विकासबाट मुलुक आत्मनिर्भर बन्छ : अर्थमन्त्री शर्मा



काठमाडौं

अर्थमन्त्री जनार्दन शर्माले कृषि क्षेत्रको विकास गरेर मुलुकलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

अर्थमन्त्री शर्माले किसान, भूमि, नेपालको हावापानी र जलस्रोतको अन्तरसम्बन्धलाई व्यवस्थित बनाएर मात्रै देशको विकास र उन्नति सम्भव भएको उल्लेख गर्दै त्यसका लागि कृषि क्षेत्रलाई परिचालित गरेर अघि बढ्नुको विकल्प नरहेको पनि स्पष्ट पार्नुभयो ।

शुक्रबार काठमाडौंमा आयोजित नेपाल कृषि सहकारी केन्द्रिय संघको १४ औं वार्षिक साधारण सभामा उनले कृषि क्षेत्रलाई व्यवस्थित, संगठित र परिचालित गरेर मुलुकको अर्थतन्त्र निर्माणका लागि राज्यले विशेष लगानी गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । अर्थमन्त्री शर्माले किसानहरुलाई संगठित गरेर कृषि क्षेत्रको विकासमा लगानी बढाउन पनि सहकारीहरुलाई सचेत गराए। अर्थमन्त्री शर्माले त्यसका लागि सरकारले समेत विशेष ध्यान दिने आश्वासन दिनुभयो।

अर्थमन्त्री शर्माले कृषि क्षेत्र र किसानहरु राज्यबाटै उपेक्षित भएको स्वीकार गर्दै अब उनीहरुलाई परिचालित गरेर कृषिमा आधारित उद्यमहरु स्थापना गर्न लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो। उनले कृषि क्षेत्रलाई उद्यममा बदलेर राष्ट्रिय पूँजी निर्माण गर्ने अभियानमा सहकारी संस्थाहरुले भूमिका महत्वपूर्ण हुने विश्वास प्रस्तुत गर्नुभयो ।

प्रकाशित मिति : १६ पुस २०७८ शुक्रबार ००:००  १ : ३९ बजे