१ जेष्ठ २०८१, मंगलबार | Tue May 14 2024

भारतमा कोरोना संक्रमित हुनेको संख्या दैनिक घट्दै



काठमाडौं ।

छिमेकी मुलुक भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको दैनिक संख्या ह्वात्तै घट्न थालेको छ । त्यहाँ ४४ दिनपछि दैनिक संक्रमितको संख्या ३० हजारमुनि झरेको छ ।

भारतमा दैनिक संक्रमितको संख्या निरन्तर घट्न थालेपछि कोभिड(१९ को नयाँ ओमिक्रोन भेरियन्टसँगै सुरु भएको तेस्रो लहर साम्य हुने दिशातर्फ लागेको देखिन्छ । भारतमा जनवरी २१ गते तेस्रो लहर उत्कर्षमा पुग्दा एकैदिन ३ लाख ४७ हजार २५४ नयाँ संक्रमित थपिएका थिए ।

तर पछिल्ला ९ दिनयता कोरोना भाइरसबाट संक्रमित हुनेको दैनिक संख्या एक लाखभन्दा मुनि झरेको छ । पछिल्लो २४ घण्टामा भारतभर २७ हजार ४०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जुन संख्या सोमबारको तुलनामा ६ हजार ७०४ ले कम हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३४७ जना संक्रमितले ज्यान गुमाएको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म भारतमा कोभिड(१९ बाट ५ लाख ९ हजार ३५८ जनाले ज्यान गुमाएका छन् ।

मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या समेत घटेर ४ लाख २३ हजार १२७ पुगेको छ । हालसम्म भारतमा कोरोना भाइरसबाट कुल ४ करोड २६ लाख ९२ हजार ९४३ जना संक्रमित भएका छन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८ मंगलबार ००:००  १२ : ५२ बजे