२० बैशाख २०८१, बिहिबार | Fri May 3 2024

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले शैक्षिक कार्यक्रम सुरु गर्दै



दाङ ।

दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले शैक्षिक कार्यक्रम सुरु गर्ने तयारी गरेको छ । स्थापना भएको पाँच वर्षपछि प्रतिष्ठानले पहिलो पटक शैक्षिक कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

आगामी नयाँ शैक्षिक सत्रदेखि प्रतिष्ठानमा नर्सिङको शिक्षाको विएसी नर्सिङ, डिएनएस र ब्याचलर अफ फार्मेसीको अध्यापन सुरु हुने प्रतिष्ठानका रजिष्टार प्रकाश थापाले बताए । ‘प्रतिष्ठानको उद्देश्य अनुरुप स्वास्थ्य उपचारसँगै पहिलो पटक शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको छ’ उनले भने, ‘जेठको दोस्रो हप्तादेखि शैक्षिक अध्यापन पनि सञ्चालन गर्न लागेका छौं ।’

उनले प्रतिष्ठानमा प्राज्ञिक परिषद् गठन गरी अध्यापन हुने तीनवटा कोर्षको पाठ्यक्रम स्वीकृत गरिएको जानकारी दिए । प्रतिष्ठानले शैक्षिक कार्यक्रम सञ्चालनका लागि चिकित्सा सेवा आयोगमा निवदेन समेत दिएको छ ।

आइतबारमात्रै चिकित्सा शिक्षा आयोगले प्रतिष्ठानमा पुगेर स्थल अवालेकन तथा सम्भाव्यता अध्ययन गरेको छ । आयोगको नर्सिङतर्फ प्रा।मन्दिरा वन्त, फार्मेसिको तर्फ प्रा।डा।धर्मप्रसाद खनाल र कृष्ण पौडेलले प्रतिष्ठानको पूर्वाधार लगायतका सम्भाव्यता अध्ययन र अवलोकन गरेर फर्किएका छन् ।

रजिष्टार थापाका अनुसार करिब २० दिन भित्रै आयोगबाटै विद्यार्थीको सिट संख्या तोकिनेछ । आयोगले नै तोकेको सिट संख्याका आधारमा प्रतिष्ठानमा विद्यार्थी भर्ना गरी अध्यापन सुरु गरिनेछ ।

प्रतिष्ठानले भने तीनवटै विषयमा ४०(४० विद्यार्थी संख्या राखेर कक्षा सञ्चालन गर्ने रजिष्टार थापाले बताए । जेठको दोस्रो सातादेखि अध्यापन थाल्ने प्रतिष्ठानले तयारी गरेको छ ।

प्रतिष्ठानमा शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक पूर्वाधारसमेत प्रयाप्त भएको प्रतिष्ठानले जनाएको छ । ४०(४० विद्यार्थी संख्या क्षमताका तीन वटा कक्षा, ल्याब तीन वटा, एउटा अडिटोरियम र लाइब्रेरी समेत तयारी अवस्थामा रहेको रजिष्टार थापाले जानकारी दिए ।

‘अध्यापनका लागि चाहिने सबै कक्षा कोठा र ल्याबहरु तयार छ ।’ उनले भने । ब्याच्लर अफ फार्मेसीको ल्याब भने निर्माणधीन अवस्था रहेको उनले बताए ।

रजिष्ट्रार थापाका अनुसार छात्रावासको समेत व्यवस्था हुने उनले बताए । ‘छात्रावासका लागि पनि भवनको समस्या छैन’ उनले भने, ‘खाली भवनलाई छात्रावामा परिणत गर्न सकिन्छ ।’ उनले प्रतिष्ठानको प्रशासनीक भवनसँगै सटेको पोषण गृहलाई छात्रावासको रुपमा प्रयोग गरिने बताए ।

प्रकाशित मिति : १६ फाल्गुन २०७८ सोमबार ००:००  १ : ३७ बजे