५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

नेकपा (मसाल) कपिलवस्तुको प्रवक्तामा माधव भाट



मायादेवी अनलाइन, चारनम्बर ।
नेपाल कम्युनिस्ट पार्टी (मसाल) जिल्ला समन्वय समिति कपिलवस्तुको एक भेलाले माधव भाट क्षेत्रीलार्इ जिल्ला प्रवत्ताको जिम्मेवारी दिएको छ । पार्टी भित्र अन्तर संघर्ष गर्दै आएको यो समूहले जिल्लास्तरमा पनि आफ्नो समूहको नेतृत्व तोक्ने क्रममा कपिलवस्तुमा पनि तोकिएको हो ।

नेपाल कम्युनिस्ट पार्टी (मसाल) जिल्ला समिति कपिलवस्तुका पूर्व जिल्ला सदस्य, राष्ट्रिय जनमोर्चा कपिलवस्तुका पूर्व जिल्ला सदस्य, अखिल नेपाल उद्योग ब्यापार संघका केन्द्रिय सदस्य साथै पार्टीका बिभिन्न जनवर्गीय मोर्चाहरुमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहनु भएका भाटलाई नेकपा (मसाल) जिल्ला समन्वय समितिको चैत्र ८ मा सम्पन्न भेलाले प्रवत्ताको जिम्मेवारी दिएको हो ।

प्रवक्ता भाटले २०७८ फागुन ९ गते एक विज्ञप्ती जारी गर्दै नेकपा मसाल भित्र चलेको संशोधनवाद र क्रान्तिकारी बीचको संघर्षलाई मसाल नेतृत्वले ब्यवस्थापन गर्नुको साटो फरक मत प्रकट गर्नेहरुलाई पार्टीबाट निस्कासन गर्ने, जिम्मेवारी नदिने, समितिहरु बिगठन गर्ने जस्ता निरङ्कुश तथा स्वेच्छाचारी गतीबिधि अगाडि बढाएको हुनाले पार्टी भित्रका क्रान्तिकारीहरुलाई एकजुट पार्न भेलाको आयोजना गर्नुपरेको उल्लेख गरेका छन् ।

‘भेलाले संशोधनवाद बिरुद्धको संघर्षलाई थप पेचिलो बनाएर अगाडि बढ्ने निर्णय गरेको छ’, विज्ञप्तीमा भनिएको छ, ‘मसाल नेतृत्व आठौं महाधिवेशनबाट संस्थागत रुपमा नै कम्युनिस्ट आन्दोलनको दिशाबाट विमुख भएको हुनाले क्रान्तिकारी आन्दोलनको रक्षा र विकास गर्न, क्रान्तिकारी पार्टी पुनः निर्माण गर्नुपर्ने आवश्यकता रहेको छ ।’ क्रान्तिकारी बिचार बोकेका पार्टी सदस्य, वामपन्थी ब्यक्ति, समूह तथा जनताहरुलाई क्रान्तिकारी पार्टी निर्माणको अभियानमा सामेल हुन विज्ञप्ती मार्फत् अनुरोध समेत गरिएको छ ।

भेलाले राष्ट्रघाती एमसीसी खारेजी लागि एकल वा संयुक्त संघर्षका कार्यक्रम आयोजना गर्ने भाटद्धारा विज्ञप्तीमा उल्लेख गरिएको छ । भ्रष्टाचार, अनुदानको नाममा भएको अनियमितता, महंगी, पेटोलियम पदार्थको लगातारको मुल्य बृद्धि, कालोबजारीका बिरुद्ध अभियान चलाउने भेलाले निर्णय गरेको छ।

प्रकाशित मिति : १० चैत्र २०७८ बिहिबार ००:००  १ : ०१ बजे