५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

वाणगंगाको चार दलीय गठबन्धनले थुत्यो ७ नं. वडाका उम्मेद्वार, नेत्र गिरीको टिमलाई समर्थन



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा नगरपालिकाको वडा नं. ७ मा नेत्र गिरीको टिमलाई समर्थन गर्ने चार दलीय गठबन्धनले जनाएको छ ।

एमालेबाट विद्रोह गरी वडा नं. ७ मा स्वतन्त्र उम्मेद्वारी दिएको गिरी सहितको ५ जनाको टिमलाई सघाउने गरी शुक्रबार गठबन्धनका उम्मेद्वारले उम्मेद्वारी थुतेका हुन् ।

निर्वाचन कार्यालय वाणगंगामा शुक्रबार दिउँसो गठबन्धनका उम्मेद्वार उम्मेद्वारी फिर्ता लिन पुगेका थिए । गठबन्धनले वडाध्यक्ष शिव बन्जाडेसहित चुनाव चिह्न हसिया हथौंडाबाट आफ्ना उम्मेद्वार वडा नं. ७ मा उठाएको थियो ।

वडा नं. ७ का लोकप्रिय नेता नेत्र गिरीले एमालेबाट टिकट वितरणमा अन्याय भएको भन्दै गएको बैशाख १२ गते स्वतन्त्र समूह बनाएर उम्मेद्वारी दर्ता गरेका थिए ।

उम्मेद्वारी दर्ता गर्ने बेला गिरी समूहले निर्वाचनमा मतदान गर्न गाह्रो हुने भएकाले गठबन्धनका दलहरुसंग छाता चुनाव चिह्न मागेका थिए । जसपाको छाता चुनाव चिह्नबाट गिरी समूहले उम्मेद्वारी दर्ता गरे पनि माओवादी केन्द्रको हसिया हथौंडा चुनाव चिह्नबाट यस वडामा उम्मेद्वारी परेको थियो ।

दुवै पक्षको सहमति बमोजिम वडा नं. ७ मा चार दलीय गठबन्धनले आफ्नो उम्मेद्वार फिर्ता बोलाएर गिरीको सिंगो समूहलाई निर्वाचनमा सघाउने छ । गिरीको समूहले नगरका मेयर, उप-उपमेयरलाई सघाउने गरि दुवै पक्ष अगाडी जाने सहमती भएको गठबन्धनबाट वडाध्यक्षका उम्मेद्वार बन्जाडेले बताए ।

यता गिरीले जनताको अदालतमा आफु उभिन तयार रहेको बताए । एमालेले जन चाहना र वडा कमिटीको निर्णय विपरित टिकट दिएको भन्दै त्यसलाई बैशाख ३० गते वडाबासीले अझै प्रमाणित गरेर देखाउने विश्वास राखेको उनले जनाए । आफुहरु स्वतन्त्र रुपमा नै चुनाव लड्ने गरि अगाडी बढेपनि सिंगो वडाको समूहलाई मतदान गर्न मतदाता झुक्किने भएकाले छाता चुनाव चिह्न लिएर लडेको उनले बताए । चार दलीय गठबन्धनले पनि आफुलाई सघाउने भएपछि आफ्नो जित अब सुनिश्चित भएको उनले जनाए ।

प्रकाशित मिति : १६ बैशाख २०७९ शुक्रबार ००:००  ३ : १५ बजे