१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

एमालेको टिकट वितरणमा आर्थिक चलखेल भए पछि विद्रोह गरेको हुँः बेल्वासे



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तु वाणगंगा नगरपालिका वडा नं. ९ का वडाध्यक्षका स्वतन्त्र उम्मेद्वार कुमार मधु बेल्वासेले एमालेले टिकट वितरणमा आर्थिक चलखेल गरेको आरोप लगाएका छन् । स्थानीय तहमा टिकट वितरण गर्दा एमालेले कुनै पनि मापदण्ड लागू नगरेको भन्दै त्यहीँ अन्यायका विरुद्ध विद्रोह गरेर वडाध्यक्षमा उठ्नु परेको बेल्वासेले प्रष्टयाए ।

शनिबार चार दलीय गठबन्धनद्धारा जितपुर चारनम्बरमा आयोजित प्रतिवद्धतापत्र घोषणासभामा बोल्दै बेल्वासेले टिकट वितरणमा आर्थिक चलखेल हुँदा आफु जस्ता व्यक्ति त्यस पार्टीबाट अपमानित हुनु परेको उनले जनाए । एमालेले जनमत भन्दा पनि धन हुनेलाई महान दिन थालेको भन्दै जीवनभर एमालेको राजनीति गरेकाहरुले विद्रोह गर्नुपरेको यर्थाथता उनले प्रष्ट्याए ।

बेल्वासेले वडाको उम्मेद्वारी स्वतन्त्र रुपमा नै दिएको भन्दै भ्रममा नपर्न शुभचिन्तक र मतदातालाई अनुरोध पनि गरे । स्वतन्त्र रुपमा लड्दा चुनाव चिह्नको समस्या पर्ने भएकाले गठबन्धन भित्रकै हसिया हथौँडाबाट उम्मेद्वारी दिएको उनले जनाए ।

गठबन्धन भित्रका दलहरुले आफ्नो उम्मेद्वारीलाई महत्व दिई चुनाव चिह्नसहित समर्थन गरेको प्रति बेल्वासेले धन्यवाद दिए ।

०५४ सालको साविक भलवाडको गाविस अध्यक्ष समेत भएका बेल्वासेले यो चुनावमा आफ्नो जित सुनिश्चित रहेको बताए । समग्र भलवाडको विकासमा आफ्नो महत्वपूर्ण योगदान रहेको भन्दै उनले अझै काम गर्नु पर्ने देखेरै वडाध्यक्षमा उठेको उनले जनाए ।

भलवाडको शिक्षा, स्वास्थ्य र स्वरोजगार सिजर्नामा आफुले जिते पछि महत्वपूर्ण योगदान गर्ने उनले प्रतिवद्धता जनाए । यो चुनावमा उठ्ने मन खासै नभए पनि एमाले भित्रको अन्याय र ज्यादथीपूर्ण विभेदको विरुद्धमा आवाज उठाउन बाध्य भएर उठ्नु परेको पनि उनको तर्क थियो ।

पार्टीको लुम्बिनी प्रदेश कमिटीको सदस्य रहेपनि वडाको टिकट वितरणमा आफुलाई कुनै जानकारी नदिइएको र आर्थिक प्रलोभनकै आधारमा टिकट वितरण गरिएको उनले दाबी गरे ।

साना किसान कृषि सहकारीको अध्यक्ष समेत रहेका बेल्वासे भलवाड क्षेत्रका भरपर्दा नेता हुन् । सहकारीमा उनले दिएको योगदान प्रशंसनीय छ भने समग्र भलवाडको विकासमा उनले जीवन समर्पित गरेका छन् ।

वाणगंगा नगरमा चार दलीय गठबन्धनले बेल्वासेलाई निर्वाचनमा सघाउने गरि चुनाव चिह्न दिएका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०७९ शनिबार ००:००  १ : २६ बजे