१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

ओली राजावादीहरूसँग गठबन्धन गरिरहेका छन्ः नेता पौडेल



काठमाडौं ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजावादीहरूसँग गठबन्धन गरिरहेको आरोप लगाएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा वरिष्ठ नेता पौडेलले ओलीले पुरातनपन्थी र भ्रष्टाचारीहरूसँग गठबन्धन गरिरहेको आरोप लगाए ।

“ओलीले गरेको गठबन्धन कस्ता तत्वसँग छ ?, ओली आज कोसँग हात मिलाउन गएका छन् ? पुरातन पन्थी, राजावादी, प्रतिक्रियावादी, भ्रष्टाचारीहरूसँग गठबन्धन गरिरहेका छन् ओली,” उनले भने, “नेपाली कांग्रेसको राजनीति ठिक बाटोमा गएको छ । विकास रणनीति पनि सही ढंगको छ ।”

विकासको नाममा नेकपा एमालेका कार्यकर्ताहरूले केन्द्रबाट बजेट लगेर आफैँ उपभोक्ता, आफैँ ठेकदार बन्ने गरेको र बजेट सबै खल्तीमा हालेको पौडेलको आरोप छ । उनले नेकपा एमालेले विकासका योजनाहरू अलपत्र बनाएको पनि बताए ।

वरिष्ठ नेता पौडेलले नेकपा एमालेले बारम्बार संसदमाथि हमला गरेर जनताको अधिकारमाथि हमला गरेको टिप्पणी गरे । उनले नेपाली कांग्रेसले ओली प्रवृतिसँग सामना गर्न परिवर्तनका पक्षधर, संविधानका पक्षधर र नेपालमा लोकतन्त्रका पक्षधरहरूलाई एक ठाउँमा राखेर गठबन्धन गरेको बताए ।

प्रकाशित मिति : १७ बैशाख २०७९ शनिबार ००:००  ३ : ५६ बजे