४ जेष्ठ २०८१, शुक्रबार | Sat May 18 2024

भारतीय पर्यटक तान्न ‘गर्मीसे बेहाल, चलो नेपाल’ अभियान



काठमाण्डौ ।

नेपाल उद्योग परिसङ्घले भारत र बङ्गलादेशका पर्यटकलाई लक्षित गर्दै समर टुरिजम क्याम्पेनु चलाएको छ ।

आज बिहीवार परिसङ्घले काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै भारत र बङ्गलादेशमा रहेका प्रकृतिप्रेमीहरूलाई नेपाल घुमाउन समर टुरिजम क्याम्पेनु सुरु गरेको हो । गर्मीलाई लक्षित गर्दै परिसङ्घले भारतमा ‘गर्मीसे बेहाल रु चलो नेपाल’ अभियान थालेको हो । उस्तै शब्द बङ्गलादेशमा पनि चलाइने परिसङ्घले जनाएको छ ।

परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवालले कोभिड–१९ पछि भारतीय र बङ्गलादेशीसहित अन्य देशका पर्यटकसमेत बिस्तारै बाहिर निस्कन थालेको अवस्थामा उनीहरूलाई नेपालमा आकर्षित गर्न यो अभियान सञ्चालन गरेको बताउनुभयो । उहाँले अहिले भारत र बङ्गलादेशमा निकै गर्मी रहेको र गर्मी मौसममा उनीहरू बाहिर भ्रमण गर्न निस्कन खोजिरहेको बेला नेपाललाई नै गन्तव्य बनाउन यो अभियानले आकर्षित गर्ने विश्वास लिएको बताउनुभयो ।

त्यस्तै नेपाल उद्योग परिसङ्घका उपाध्यक्ष राजबहादुर शाहले भारत र बङ्गलादेशको उच्च गर्मीबाट शीतलता खोजिरहेका भारतीय र बङ्गलादेशी पर्यटकका लागि नेपालको मौसम अनुकूल रहेकाले यो अभियानले उनीहरूलाई आकर्षित गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले कोभिडका कारण बाहिर निस्किन नसकेका पर्यटकहरूले यसको लाभ लिने बताउनुभयो ।

परिसङ्घका महानिर्देशक दीपकराज जोशीले भारत र बङ्गलादेशमा रहेका परिसङ्घको नेटवर्कबाट पनि यो अभियान प्रवर्द्धन गरिने बताउनुभयो । उहाँले नेपाल पर्यटनका लागि उचित र राम्रो गन्तव्य रहेको बताउँदै अहिले देशका सबै ठाउँ खुलेको भन्दै पर्यटनमा सहज हुने बताउनुभयो ।

परिसङ्घले भारतमा अल इन्डिया एसोसिएशन अफ इन्डस्ट्रिज, फेडेरेशन अफ इन्डियन इन्डस्ट्रिज, फेडेरेशन अफ इन्डियन च्याम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिज, पीएचडी च्याम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीसँग सहकार्य गर्दै आएको छ । यस्तै बङ्गलादेशको मेट्रोपोलिटन च्याम्बर अफ कमर्स एन्ड इन्डस्ट्री, र ढाका च्याम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीसँग पनि परिसङ्घले सहकार्य गर्दै आएको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७९ शुक्रबार ००:००  ५ : ३९ बजे