१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नेपाल ओमनसँग १३ रनले पराजित



काठमाडौं ।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टूको त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोली ओमानसँग १३ रनले पराजित भएको छ । ओमानले प्रस्तुत गरेको २१२ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ४९।४ ओभरमा १९८ रनमा समेटिएको हो ।

नेपालका लागि आरिफ शेखले सर्वाधिक ६६ रनको योगदान दिए भने देव खनालले ३४ रन बनाए । रोहित पौडेलले १७ बलमा २० रन बनाए । ओमानका लागि जिसान महमुद र खवार अलीले ३(३ विकेट लिए ।

यसअघि अमेरिकाको टेक्ससस्थित मोसा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २११ रन बनाएको थियो । ओमानका लागि कप्तान जिसन मक्सुदले शतकीय पारी खेले । १२६ बल खेलेका उनले १२ चौका प्रहार गर्दै १०४ रन जोडे । त्यस्तै खवार अलीले ३० रनको योगदान गर्दा सविब खानले २७ रनको योगदान गरे । बलिङतर्फ नेपालका लागि करण केसीले सर्वाधिक ५ विकेट लिए । १० ओभर बलिङ गरेका उनले ३८ रन खर्चेर ५ विकेट लिए । त्यस्तै सन्दीप लामिछानेले दुई विकेट लिँदा सोमपाल कामीले एक विकेट लिए ।

नेपालले ओमानलाई हालसम्म एक पटक मात्र हराएको छ । लिग टु अन्तर्गत नै नेपालले ओमानलाई २०२१ को सेप्टेम्बरमा उसैको मैदानमा ७ विकेटले हराएको थियो । त्यसअघिको तीन भेटमा ओमान लगातार विजयी भएको थियो ।

प्रकाशित मिति : २७ जेष्ठ २०७९ शुक्रबार ००:००  ६ : १९ बजे