तिलोत्तमा ।
बुद्ध जन्मस्थल लुम्बिनीको दानपेटिकाको रकम गणना सुरु भएको छ । लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज सिद्धिचरण भट्टराईको नेतृत्वमा राजश्व कर्मचारी, सुरक्षाकर्मी, नगरपालिकाका प्रतिनिधिसहित कर्मचारीहरू सहभागी भइ पेटिकाको रकम गन्न सुरु गरिएको हो ।
त्रैमासिक रुपमा गणना भइ बैंकमा बचत हुने मुख्य आम्दानीको श्रोत दान रकम यसपटक भने केही कम हुने भट्टराईले बताए । विकास कोषका कर्मचारी, प्रहरी, नगरपालिकाका प्रतिनिधि गरी ३० जना कर्मचारीलाई ४ दिनका लागि रकम गन्ने काममा खटाइएको उनले बताए ।
उनका अनुसार ४ वटा दानपेटिका खोलेर गन्नुपर्छ । उनले भने, ुएउटा पेटिका सकिँदै गर्दा साढे ६ लाख रुपैयाँ संकलन भएको छ ।ु विकास कोषको टिकट काउण्टर अगाडि रहेको कोठामा ती कर्मचारीले रकम गनिरहेको भन्दै उनले आफूले दिनभर सीसीटिभीको माध्यमबाट र प्रत्यक्ष रुपमा निगरानी गरिरहेको बताए । विगतमा दानपेटिका चोरी हुने समस्या देखिएकाले सुरक्षा निकायलाई थप सतर्क बनाएर खटाइएको पनि उनले बताए ।
गणनामा खटिएका कर्मचारीलाई नियमावली अनुसार प्रतिव्यक्ति १ हजार ५ सय रकम दिने उल्लेख छ । विकास कोषमा बजेट नभएर धान्नै गाह्रो भइरहेकाले दैनिक ५ सयमा १५ प्रतिशत कर कट्टी गरी बाँकी रहेको रकम कर्मचारीले पाउने उनले जनाए । दान नै आम्दानीको मुख्य श्रोत मानिएको लुम्बिनीमा पहिलेको तुलनामा यसपटक ६ लाख जति रकम कम हुने भट्टराईको भनाइ छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणपछि लुम्बिनीमा भारतीय पर्यटकको आगमन वृद्धि भएको महसुस गरिएको भन्दै उनले विमानस्थलदेखि विदेशी पर्यटक आवागमन हुन पाए आर्थिक रुपमा दान रकम बढ्ने तथा लुम्बिनीको आम्दानी वृद्धि हुने विश्वास रहेको बताए ।
ुअहिले त टिकट र रकमको स्तर नै कम छ,ु उनले भने, ुकोरोना महामारीले असर गर्दा आम्दानी र पर्यटक दुवैमा कमी आएको हो । संकलित रकमको हरेक दिनको मुचुल्का उठाएर वित्तीय संस्थाका कर्मचारीले भौचर भरी विकास कोषको आम्दानी खातामा जम्मा गरिदिने गर्छन् ।ु त्यसमा सटही नहुने रकम छुट्याएर राखिने गरेको उनी बताउँछन् । रकम गन्नका लागि कर्मचारी बिहान ९ बजेदेखि खटिने गरेका छन् ।







प्रतिक्रिया