१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

माओवादी बैठकः आज प्रचण्डको जवाफी सम्बोधन



काठमाडौं ।
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफी सम्बोधन गर्ने भएका छन् ।बैठकमा आज केन्द्रीय सदस्यहरूले राखेका धारणामाथि अध्यक्ष प्रचण्डले जवाफ दिने कार्यसूची छ ।

गएको आइतबारदेखि सुरु भएको बैठकमा सदस्यहरूले बोल्ने क्रम सोमबार सकिएको थियो । आइतबार प्रचण्डले बैठकमा पेस गरेको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राखेका थिए ।

पार्टीभित्र मौलाएको गुटवाद र अराजकताको अन्त्य गर्नुपर्ने लगायतका सुझाव केन्द्रीय सदस्यहरूले नेतृत्वलाई दिएका छन् ।पार्टीको पदाधिकारी चयन तत्काल हुनुपर्ने, शहरी क्षेत्रमा पार्टी किन कमजोर भयो भन्ने बारेमा स्पष्ट दृष्टिकोणका साथ विशेष अभियान सञ्चालन गर्नुपर्ने, पार्टी सञ्चालनका लागि स्पष्ट कार्यदिशा तय गर्नुपर्नेमा नेताहरूले जोड दिएका थिए ।

यस्तै पार्टीको सांगठनिक अवस्थाको सुधारका लागि ७५३ वटै पालिकामा केन्द्रीय सदस्यको नेतृत्वमा पार्टी समिति परिचालित हुनुपर्ने, तालमेलभन्दा पनि आफ्नै बलबुतामा उभिने गरी अगाडि बढ्नुपर्नेमा पनि केन्द्रीय सदस्यहरूले जोड दिएका छन् ।

माओवादीले संविधान निर्माणपछि आमरूपमा जनतालाई प्रभावमा पार्ने गरी अभियान चलाउन नसकेको र पार्टीको छवि एउटाको पछि लागेर सरकारमा जाने बनेको भन्दै त्यसमा ‘ब्रेक थ्रु’ जरुरी रहेको नेताहरूको भनाइ थियो । केन्द्रीय सदस्यहरूले उठाउका यी तमाम विषयहरूमा अध्यक्ष प्रचण्डले आज जवाफ दिनेछन् । बैठक बिहान ११ बजे प्रज्ञा भवन कमलादीमा बस्नेछ ।

प्रकाशित मिति : २१ असार २०७९ मंगलबार ००:००  ८ : ११ बजे