१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

रामेछाप बस दुर्घटना : ‘फाल हानेर जोगिए’ चालक



रामेछाप ।

रामेछापको सुनापाती गाउँपालिका लुभुघाटमा आज मङ्गलवार बिहान भएको बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या १३ जना पुगेको छ । नौ जनाको घटनास्थलमा र चार जनाको काभ्रेको अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । अन्य २२ जना घाइते छन् ।

सामान्य घाइते भएका गाडी चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । सहचालक उपचारपछि घर फर्किएका छन् । अन्य २० जनाको उपचार भइरहेको छ । जिल्ला प्रशासन कार्यालय रामेछापका अनुसार गाडीमा चालक सहचालकसहित ३५ जना रहेका थिए । उनीहरूमध्ये चालक भने गाडी घुम्तीबाट खस्नै लाग्दा फाल हानेका कारण ठूलो घाइते हुनबाट जोगिएका छन् । उनी आफैँ रामेछाप प्रहरीमा सम्पर्कमा पुगेको जनाइएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले उनलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।
आज बिहान ७ बजेतिर रामेछापको सुनापती गाउँपालिकाको केन्द्र हिलेदेवीबाट काठमाण्डौ आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको यात्रुवाहक बस १० बजेतिर लुभुघाटमा दुर्घटनामा परेको थियो ।

स्थानीयवासीले गाडीको ुब्रेक फेलु भएर दुर्घटना भएको दाबी गरेका छन् । प्रहरीका केन्द्रीय प्रवक्ता विष्णुकुमार केसीले पनि गाडीको इन्जिन खराबीका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरेको जानकारी दिनुभयो ।

प्रकाशित मिति : २१ असार २०७९ मंगलबार ००:००  ६ : ०९ बजे