२२ बैशाख २०८१, शनिबार | Sun May 5 2024

छिट्टै कालो सूचीबाट नेपालको हवाई क्षेत्र हट्छः मन्त्री श्रेष्ठ



काठमाडौं ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले युरोपियन युनियनले नेपालको हवाई क्षेत्रलाई छिट्टै कालो सूचीबाट हटाउने बताएका छन् ।

आइतबार नेपाल नागरिक उडड्यन प्राधिकरणले आयोजना गरेको ‘आर्थिक वर्ष २०७९/०८० को बजेट तथा कार्यक्रम सम्बन्धी पत्रकार भेटघाट कार्यक्रम’मा मन्त्री श्रेष्ठले छिट्टै नेपाललाई युरोपियन युनियनले कालो सूचीबाट हटाउने बताएका हुन् ।

उनले आईकाओले गरेको अडिटअनुसार नेपालको हवाई क्षेत्र राम्रो रहेको दाबी गरे । उनले सम्बन्धित पक्षले नेपाल नागरिक उडड्यन प्राधिकरणलाई पत्राचार गरेर अनसाइट अडिट पठाउने भनिसकेको उल्लेख गर्दै त्यसपछि नेपाल कालो सूचीबाट हट्ने बताए ।

“युरोपियन युनियनको लिस्टेडबाट नेपाललाई हटाउनुपर्छ । त्यसको लागि हामीले उच्च प्राथमिकताकासहित काम अगाडि बढाउनुपर्छ भन्ने मान्यता राखेकै हौँ । सम्बन्धित निकायहरूसँग कुराकानी गर्ने काम्पनी निरन्तर रूपमा भइरहेकै छ । आईकाओले अडिट गरेको अवस्थामा हामीले जुन पोजिसन पाएका छौँँ, हामीले राम्रो स्कोर पाएका छौँ भने अब उनीहरूले हामी सहकार्य गर्न चाहन्छौँ । पार्टनरसिपमा हामी जान चाहन्छौँ । त्यसैले हामी अनसाइट अडिट पठाउँछौँ भन्ने कुरा लेटर हाम्रो क्यानको महानिर्देशकलाई सम्बोधन गरेर पठाएको छ,” उनले भने ।

उनले भैरहवा विमानस्थललाई पूर्ण रूपमा सञ्चालन गरिने पनि बताए । त्यसका लागि नयाँ विमानहरूलाई आकर्षित गर्ने र सुविधाहरू दिइने उनको भनाइ छ । त्यस्तै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि जहाजहरू बढाएर पूर्ण रूपमा सञ्चालन गरिने बताए ।

प्रकाशित मिति : १५ श्रावण २०७९ आइतबार ००:००  ५ : ३४ बजे