७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

लुम्बिनीमा उपेन्द्र यादवको साथ छाड्ने बढे, बहुमत केन्द्रीय सदस्य बाबुरामतिर



बुटवल ।
जनता समाजवादी पार्टीमा लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने बहुमत केन्द्रीय सदस्यले पार्टी परित्याग गरी डा. बाबुराम भट्टराईलाई साथ दिएका छन् ।

मधेशपछि जसपाको राम्रो आधार क्षेत्र भएको मानिएको लुम्बिनी प्रदेशका ५८ केन्द्रीय सदस्यमध्ये ३३ जना डा. भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीमा आबद्ध भएका हुन् ।

लुम्बिनी प्रदेशका केन्द्रीय सदस्यहरुको बैठकले जसपाबाट राजीनामा दिएर प्रदेश इन्चार्ज दानबहादुर चौधरीको नेतृत्वमा नेपाल समाजवादी पार्टीमा आबद्ध हुने निर्णय गरेको केन्द्रीय सदस्य देवेन्द्र पाण्डे सागरले जानकारी दिए ।

जसपा परित्याग गर्नेहरुमा प्रदेशका सहइन्चार्ज मोहम्मद वकिल मुसलमान, सहइन्चार्ज चिनक कुर्मी, सहइन्चार्ज कमल खनाल, केन्द्रीय सदस्यहरु गोविन्द चौधरी, विष्णुहरि शर्मा, प्रदेश समितिका मुख्य सचिव एवं केन्द्रीय सदस्य यज्ञप्रसाद पोखरेल, सुरेन्द्र पटेल, कर्णध्वज केसी रहेका छन् ।

यस्तै उर्मिला पाण्डे, देवेन्द्र पाण्डे, किस्मत बिक, अब्दुल रहमान, बिमल गिरी, विश्वदीप पाण्डे, तेजेन्द्र थापा, राजु नेपाली, छन्द पन्थी, अतिउल्ला मुसलमान, उमाशंकर यादव, घमानसिंह गुरुङ, जीतमान पुन, उपेन्द्रलाल कामी, हिक्मत बिक, वेदप्रकाश आचार्य, गजाधर सुनार, हरि रिजाल, नारायण खनाल, डा.मुक्ति रिजाल, सुनिता काफ्ले, पंकज राई, गोकर्ण थापा र वीरेन्द्र हरिजनले पनि डा. भट्टराईको पार्टीमा आवद्ध हुने गरी राजीनामा दिएको मुख्य सचिव यज्ञप्रसाद पोखरेलले जानकारी दिएका छन ।

प्रकाशित मिति : १६ श्रावण २०७९ सोमबार ००:००  ६ : ४२ बजे