३० बैशाख २०८१, आइतबार | Sun May 12 2024

नागरिकता विधेयकले भविष्यमा नेपाली जनता अल्पमतमा पर्ने सम्भावनाः अध्यक्ष केसी



बुटवल ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्ता स्वार्थका लागि विदेशीको गोडा नमोल्न प्रमुख दलका नेतालाई सुझाव दिएका छन् ।

रक्तिम सांस्कृतिक अभियानको तेस्रो राष्ट्रिय भेलालाई बुटवलमा सम्बोधन गर्दै अध्यक्ष केसीले कांग्रेस, एमाले र माओवादी लगायतका पार्टीले संसदबाट एमसीसी पास गरेर नेपाललाई चीन विरोधी क्याम्पमा पुराएको बताए।

अहिलेको नागरिकता विधेयकले भविष्यमा नेपाली जनता अल्पमतमा पर्ने सम्भावना रहेकाले खारेज गर्नुपर्नेमा जोड दिए।

‘दुवै सदनबाट पास भएको नागरिकता विधेयक नेपालीको हितमा छैन। अहिलेको नागरिकता विधेयकले भविष्यमा नेपाली जनता अल्पमतमा पर्ने सम्भावना छ’ उनले भने, ‘नेपालको अस्तित्व कायम राख्न संघीयता, एमसीसी, नागरिकता विधेयकसहित विभिन्न कालखण्डमा भएका असमान सन्धि, सम्झौता खारेज गर्नुपर्छ।

कार्यक्रममा नेकपा (मसाल)का प्रवक्ता रामप्रकाश पुरीले वर्गीय मुद्दालाई आधार बनाएर क्रान्तिकारी रुपान्तरणका लागि सांस्कृतिक क्रान्तिको विकल्प नभएको बताए।

रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष रेम रानाको अध्यक्षता र महासचिव जीवन शाहीको सञ्चालनमा उद्घाटन कार्यक्रम भएको हो।

५२ जिल्लाको सहभागिता रहेको उक्त भेला दुई दिनसम्म चल्ने बताइएको छ। भेलामा राजनीतिक, सांस्कृतिक, साहित्य, दर्शन लगायतका विषयमा प्रशिक्षण दिइने रक्तिमले बताएको छ।

प्रकाशित मिति : १७ श्रावण २०७९ मंगलबार ००:००  ७ : ४७ बजे