५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

धरापमा दृग नारायण पाण्डेयको राजनीति !



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुका दृग नारायण पाण्डेयको राजनीतिक जीवन धरापमा परेको छ । आसन्न आसन्न मंसीर ४ को निर्वाचनमा कपिलवस्तु प्रतिनिधिसभा २ को प्रदेश सभा ‘क’ बाट चुनाव लड्ने सुरसार गरेका पाण्डेयको नाम प्रदेश सभा मै सिफारिस भएन् ।

नेपाली कांग्रेसको प्रदेश सभा र प्रतिनिधिसभा क्षेत्रिय समितिले पाण्डेयको नाम सिफारिस नगरेको हो ।

पाण्डेय कुनै बेला महाराजगन्ज क्षेत्रमा नेपाली कांग्रेसका प्रभावशाली नेता थिए । ०७४ को स्थानीय तह निर्वाचनमा पाण्डेयलाई कांग्रेसले टिकट नदिए पछि महाराजगन्ज नगरपालिकामा उनी बागी मेयरको उम्मेद्वार बने ।

हालका कांग्रेस सभापति अब्दुल कलामसंग कमै मतले चुनाव हारेका पाण्डेय ०७४ को मंसीरमा सम्पन्न प्रदेशसभा सदस्यका प्रमुख दाबेदार थिए । चुनावमा पार्टीका उम्मेद्वार विरुद्ध बागी उठेको कारण पाण्डेय कांग्रेसबाट प्रदेशसभामा उम्मेद्वार बन्न पाएनन् ।

त्यहीँ झोकमा पाण्डेय नेकपा (एमाले) मा प्रवेश गरे । मनोनयन दर्ताको अघिल्लो दिन एमाले प्रवेश गरेका पाण्डेय ०७४ को निर्वाचनमा प्रदेशसभा ‘क’ बाट उम्मेद्वार बने ।

बामगठबन्धनका साझा उम्मेद्वार बनेका उनले चुनाव पनि जिते ।

चुनाव जिते पछि पाण्डेयलाई एमालेले लुम्बिनी प्रदेशसभामा सामाजिक विकास समितिको सभापति बनायो ।

०७७ मा तत्कालिन नेकपा भित्रको किचलोलाई आधार बनाए पार्टी छाड्ने मनस्थिति बनाए । नेकपा फुटे पछि पार्टी कमजोर हुने महशुस गरेका पाण्डेयले तत्कालिन एमालेको सांसदबाट राजीनामा दिए । उनले पैसामा बिकेर राजीनामा दिएको एमाले लुम्बिनी प्रदेशसभाका सचेतक भुमिश्वर ढकालले रेडियो मायादेवीसंगको एक अन्तर्वार्तामा आरोप लगाएका थिए ।

पाण्डेयको राजीनामासंगै लुम्बिनी प्रदेशको सरकार अल्पमतमा पर्‍यो । संसदीय जोड घटाउमा पाण्डेयको राजीनामा महत्वपूर्ण बनेको बेला तत्कालिन कांग्रेस-माओवादी र माधव समूहले उनलाई राष्ट्रिय सभा सदस्य बनाउने गरी एमालेबाट राजीनामा दिन लगाएका थिए ।

पाण्डेय यहीँ मौकामा ९ महिना राष्ट्रिय सभा सदस्य बने । कांग्रेस प्रवेश गरेर राष्ट्रिय सभा सदस्य समेत पड्काएका पाण्डेय पछिल्लो समय कांग्रेसमा सक्रिय थिए ।

कांग्रेसमा सक्रिय भएपनि पाण्डेयलाई अस्थिर र अवसरवादी नेतामा रुपमा एक थरीले चित्रण गर्दै आएका थिए । कांग्रेस-एमाले दुवै दललाई पटक-पटक धोका दिएका पाण्डेय अहिले यता न उताका भएका छन् ।

कांग्रेसको १४ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि हारेर कमजोर सावित भएका पाण्डेयको नाम प्रदेश सभामा सिफारिस नै नभए पछि उनी रुष्ट बनेका छन् ।

यस क्षेत्रबाट नेपाली कांग्रेसले नेपाल प्रहरीका पूर्व एसएसपी विक्रम थापाको एकल नाम सिफारिस गरेको छ ।

यो पनि पढ्नुहोस्… ‘लुम्बिनीमा दृग नारायण पाण्डेयको राजनीति ‘इतिवृतान्त’ !’

भूमिश्वर ढकालको गम्भीर आरोपः दृग नारायण र अमर बहादुर पैसामा विक्री भएका हुन् ! (अडिओसहित)

प्रकाशित मिति : १६ भाद्र २०७९ बिहिबार ००:००  १० : १९ बजे