२४ भाद्र २०८१, सोमबार | Mon Sep 9 2024

एसिया कप क्रिकेटमा भारतलाई श्रीलंकाले ६ विकेटले हरायो



काठमाडौँ ।

एसिया कप टि–२० क्रिकेटको सुपर चारमा भारतलाई श्रीलंकाले हराएको छ । यूएईमा भएको खेलमा भारत ६ विकेटले पराजित भयो ।
सुपर चारमा लगातार दुई जितसँगै श्रीलंका फाइनल नजिक पुगेको छ । भारतको फाइनल पुग्ने सम्भावना झिनो छ । जितका लागि १ सय ७४ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंकाले १९ ओभर ५ बलमा ४ विकेट गुमाउँदै भेट्टायो ।

श्रीलंकाको जितमा ओपनर कुशल मेन्डिसले ५७ रनमा बनाए । त्यस्तै पाथुम निसंका ५२ रनमा आउट भए । भारतका युजभेन्द्र चहलले ३ विकेट र रविचन्द्रन आश्विनले एक विकेट लिए । त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७३ रन बनाएको थियो । भारतका कप्तान रोहित शर्माले सर्वाधिक ७२ रन जोडे ।

श्रीलंकामा तीव्र बलर दिलशान मदुशनकाले ३ विकेट लिए । त्यस्तै चामिका करुणारत्ने र दासुन शनकाले २र२ विकेट लिए । भारत सुपर चारको पहिलो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । भारतले अन्तिम खेल भोली अफगानिस्तानसँग खेल्नेछ । आज अफगानिस्तान र पाकिस्तान खेल्दैछन् ।

पाकिस्तानले शुक्रबार श्रीलंकासँग अन्तिम खेल खेल्नेछ । भारत फाइनल पुग्न पाकिस्तानले बाँकी दुबै खेल हार्नुपर्ने हुन्छ । अन्यथा भोलिको खेल जिते पनि भारत बाहिरिनेछ । फाइनल खेल आइतबार हुनेछ ।

प्रकाशित मिति : २२ भाद्र २०७९ बुधबार ००:००  ७ : ३१ बजे