२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

दशैँका लागि १६ हजारले अग्रिम टिकट बुकिङ गरे



काठमाडौँ ।

नजिकिदै गरेको यो वर्षको बडादशैँमा घर जानका लागि १६ हजारले अग्रिम टिकट बुकिङ गरेका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले असोज १ गतेदेखि अहिलेसम्म यी संख्यामा टिकट बुकिङ गरेको जानकारी दिए।

यातायात व्यवस्था विभाग, सडक विभाग, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवसायी राष्ट्रिय महासंघको भदौ २२ गते बसेको संयुक्त बैठकले असोज १ गतेदेखि दशैँका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो।

महासंघले यो वर्षको दशैँमा काठमाडौं उपत्यकाबाट करिब २० लाख यात्रु बाहिरिने अनुमान गरेको छ। ‘अहिलेसम्म १६ हजारले टिकट बुकिङ गरेका छन्, अब विस्तारै संख्या बढ्दै जान्छ’‚ उनले भने।

उनले मागअनुसार गाडी थप्दै जाने जानकारी दिए। उनका अनुसार तत्कालका लागि चार सय गाडी थप गरिएको छ। अनलाइन टिकट बुकिङको भने व्यवस्था छैन। ‘अब जति टिकट बुकिङ हुँदै जान्छ। यही आधारमा गाडी पनि थप्दै जान्छौँ’, उनले भने।

उनले अहिले पनि वर्षा जारी रहेकाले बाटो अवरुद्ध हुँदा समयमा यात्रुहरू गन्तव्यमा पुर्‍याउन नसकेको जानकारी दिए। ‘सडकका खाल्डा पुरिदिन हामीले सडक विभागसँग माग गरेका थियौँ तर भनेजस्तो काम भएको छैन’‚ उनले भने।

प्रकाशित मिति : ४ आश्विन २०७९ मंगलबार ००:००  १ : ३० बजे