७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

गुल्मीमा तीन वर्षमा २४९ जनाद्वारा आत्महत्या



गुल्मी।

गुल्मीमा पछिल्लो तीन वर्षको अवधिमा २४९ जनाले आत्महत्या गरेका छन् । विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा आत्महत्या रोकथामसम्बन्धी जिल्ला प्रहरी कार्यालय गुल्मीले आयोजना गरेको सचेतना कार्यक्रममा प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जिल्लामा पछिल्लो तीन वर्षको अवधिमा १७३ जना पुरुष र ७६ जना महिलाले आत्महत्या गरेका खुलासा गर्नुभयो ।

तथ्याङ्क प्रस्तुत गर्दै डीएसपी खरेलले आर्थिक वर्ष ०७६र०७७ मा २९ जना महिला र ५० जना पुरुषले आत्महत्या गरेको बताउनुभयो । उहाँका अनुसार आव ०७७र०७८ मा ३० जना महिला र ६९ जना पुरुषले आत्महत्या गरेका छन् । त्यस्तै, आव ०७८र०७९ मा महिला १७ जना र पुरुष ५४ जनाले आत्महत्या गरेको डीएसपी खरेलले जानकारी दिनुभयो । सबैभन्दा धेरै आत्महत्या गर्ने उमेर समूह ६० वर्षभन्दा माथिको छ । जसमध्ये ८० वर्षभन्दा माथिका ५ जनाले आत्महत्या गरेका छन् भने १६ वर्षभन्दा कम उमेरका २६ जनाले आत्महत्या गरेका छन् ।

यस जिल्लामा सबैभन्दा धेरै आत्महत्या मुसिकोट नगरपालिकामा हुने गरेको छ भने सबैभन्दा कम आत्महत्या कालिगण्डकी गाउँपालिकामा हुने गरेको छ ।

साधारण लेखपढ गर्न जान्ने व्यक्तिहरुबाट सबैभन्दा धेरै आत्महत्या भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीको तीन वर्षे तथ्याङ्क अनुसार गुल्मीमा प्रत्येक पाँच दिनमा एक जनाले आत्महत्या गरेको देखिन्छ । तीन हजार जनामा एक जनाले आत्महत्या गरेको तथ्याङ्क रहेको उहाँले उल्लेख गर्नुभयो । एकताको अभाव, विभिन्न प्रकारका विभेद, महत्वाकांक्षा, प्रेममा असफल हुनु, कडा कानुन, बेइज्जती सहन नसकेर पनि आत्महत्या हुने गरेको डीएसपी खरेलले बताउनुभयो ।

गुल्मी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन डा।उत्तम पच्याले मानसिक समस्यालगायतका कारणबाट पनि आत्महत्या हुन सक्ने बताउनुहुन्छ । उहाँका अनुसार कुनै पनि समस्या व्यक्तिमा देखिए आफ्ना समस्याहरु साथीभाई, अभिभावकका बीचमा राख्न सक्नुपर्छ । सफलता र असफलता दुवै जीवनमा महत्त्वपूर्ण सिकाइका भागहरु हुन् भन्ने कुरालाई आत्मसात् गर्नुहुन सबैलाई आग्रह गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले आत्महत्या समस्याको समाधान नभएको बताउनुभयो । “फुटबल खेलाडीले खेलमैदानको कुनामा बसेर खेल जित्न सक्दैन ।” प्रजिअ पौडेलले भन्नुभयो,“खेल जित्न आफैँ मैदानमा होमिनुपर्छ ।”

मानिस सबैभन्दा सर्वश्रेष्ठ प्राणी भएकाले मृत्यु रोजेर होइन समस्यासँग जुँधेर हल गर्नुपर्ने बताउनुभयो । पौडेलले आत्महत्या शून्यकरणतर्फ जनचेतना जगाउन लाग्नुपर्ने बताउनुभयो ।

प्रहरी उपरीक्षक भीमबहादुर दाहालले आत्महत्याको विषयमा बोल्नुपर्ने समय आएको बताउनुभयो । आत्महत्या गर्नका लागि प्रोत्साहित गर्नेलाई समेत कानुनले अपराध ठहर गरेको उल्लेख गर्दै यसको निरुत्साहितका लागि चेतना जगाउन लाग्नुपर्ने बताउनुभयो ।

आत्महत्या रोकथाम दिवसको अवसरमा “मृत्यु रोजेर समाधान खोज्ने होइन, जीवनभित्रै उज्यालो खोजी गरौं” भन्ने उद्देश्यका साथ सचेतना कार्यक्रम गरिएको हो । कार्यक्रममा सुरक्षाका निकायका प्रमुखहरु, जनप्रतिनिधि, सदरमुकाममा अवस्थित विभिन्न शैक्षिक संस्थाका प्रमुखहरु, शिक्षक, विद्यार्थीलगायतको उल्लेखनीय सहभागिता थियो ।

प्रकाशित मिति : ४ आश्विन २०७९ मंगलबार ००:००  ३ : ०० बजे