१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

भैरहवाको भीम अस्पतालमा सेवाग्राही बढे



भैरहवा।

भैरहवा क्षेत्रको पुरानो सरकारी अस्पताल भीम अस्पतालको क्षमता ५० शय्याको छ तर अस्पतालले दैनिक १२० जनासम्म बिरामीलाई सेवा दिँदै आएको छ।

सो अस्पतालकी मेडिकल सुपरिन्टेन्डेन्ट डा। शकुन्तला गुप्ताले बहिरङ्ग सेवामा दैनिक १७५ जना तथा प्रयोगशाला, सर्जरी र प्रसूतिमा पनि सेवाग्राही बढिरहेको बताउनुभयो।

अस्पतालले थप विशेषज्ञ सेवाहरू सर्जन, अर्थोपेडिक, जनरल फिजिसियन र रेडियोलोजीको विशेषज्ञ सेवा दिनका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ। सिटी स्क्यान, ब्लड बैङ्क ल्याबमा पनि थप सेवाहरू र सरकारी सेवाबाहेकका अन्य सेवा पनि अस्पतालले विस्तार गर्न लागेको अस्पताल विकास समितिका अध्यक्ष नारायणप्रसाद भण्डारीले बताउनुभयो।

यो अस्पताल ८८ वर्षअगाडि तत्कालीन प्रधानमन्त्री भीम शमशेरको शासनकालमा तीन शय्याबाट स्थापना गरिएको हो। सो अस्पताल २०३५ सालमा १५ सप्यामा र २०४१ सालमा २५ शय्यामा स्तरोन्नति गरिएको हो।

आर्थिक वर्ष २०७७ र ७८ मा २५ शय्याबाट ५० शय्याका लागि प्रस्तावित अस्पताल एक सय सप्याको अस्पतालका रूपमा सरकारले घोषणा गर्‍यो। हाल नेपाल सरकारको प्रस्तावित ५० शय्याबाट चलेको अस्पतालमा भीम अस्पताल विकास समितिको आर्थिक स्रोत एवं व्यवस्थापनबाट थप गरी कुल १२० शय्या सञ्चालित छ। जनशक्तितर्फ करिब ७१ जनाको अस्थायी दरबन्दी छ। विभिन्न कार्यक्रमअन्तर्गतका १४ जना, अस्पताल व्यवस्थापन समितिबाट २८ जना, स्थायी दरबन्दीका २३ जना, करार दरबन्दीका १२ जना, दैनिक ज्यालादारीमा छ जना जनशक्ति अस्पतालमा छन्।

अस्पतालले आर्थिक वर्ष २०७८ र ७९ मा तीन हजार २६५ ले प्रसूति सेवा, ६३ हजार जनालाई बहिरङ्ग सेवा, आठ हजार ६०८ जनाले आकस्मिक सेवा लिएका छन् भने पाँच हजार ९७० जना भर्ना भएर बिरामी उपचार गरेको छ।

प्रकाशित मिति : ५ आश्विन २०७९ बुधबार ००:००  २ : १४ बजे