१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

आजबाट अस्थायी मतदाता नामावली संकलन हुने



काठमाडौं ।
निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनका लागि आवश्यक पर्ने अस्थायी मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य आज बिहीबारदेखि सुरू गर्दैछ।

अस्थायी मतदाता नामावलीमा समावेश गरिएका मतदाताले प्रतिनिधि सभातर्फको समानुपातिक निर्वाचन प्रणालीमा मात्र मतदान गर्न पाउने कानुनी व्यवस्था छ।

उनीहरुले प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फ तथा प्रदेश सभाकै समानुपातिक निर्वाचन प्रणालीतर्फ भने मतदान गर्न पाउने छैनन्।

अस्थायी मतदाता नामावलीमा नाम समावेश हुन निर्वाचन आयोगबाट स्वीकृत अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्नेछ।

सर्वोच्च अदालतले मतदाता नामावली ऐन, २०७३ मा भएको व्यवस्थाबमोजिम अस्थायी मतदाता नामावली तयार गरी मताधिकार प्रयोग गर्न पाउने आवश्यक व्यवस्था मिलाउन निर्वाचन आयोगका नाममा विभिन्न समयमा आदेश दिएको थियो।

ऐनमा सरकारी कर्मचारी, ब्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा, निर्वाचन कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मी, सरकारबाट स्वीकृती लिई सञ्चालन भएको वृद्धाश्रममा बसेका व्यक्तिको अस्थायी मतदाता नामावली संकलन गरी मतदान गर्न पाउने व्यवस्था छ।

प्रकाशित मिति : ६ आश्विन २०७९ बिहिबार ००:००  ९ : ३४ बजे