७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

एयरपोर्ट बिस्तार सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ



घोराही ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले दाङको टरिगाउँ एयरपोर्टको बिस्तार सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । दाङको तुलसीपुरस्थित टरिगाउँ एयरपोर्टको बिहीबार स्थलगत निरीक्षणका लागि यहाँ आउनुभएका मन्त्री श्रेष्ठले एयरपोर्टको निरीक्षणपछि अब विस्तार गर्दै ७२ सिटे हवाईजहाज बस्न सक्नेगरी एयरपोर्टको धावनमार्ग बिस्तार गर्न आवश्यक रहेको बताउनभयो ।

‘एयरपोर्ट विस्तारको राम्रो सम्भावना छ’ मन्त्री श्रेष्ठले भन्नुभयो, ‘एयरपोर्टको स्तरोन्नति गरी ७२ सिट क्षमताको प्लेन ल्याण्ड गर्न सक्ने बनाउन पहल गर्नेछु ।’ दशैं लगतै सर्भेको काम सुरु हुने र त्यसपछि बजेट सुनिश्चितता गरी धावनमार्ग बिस्तारको काम अगाडि बढ्ने मन्त्री श्रेष्ठले बताउनुभयो ।

‘हामी दाङ एयरपोर्ट विस्तारका लागि अवस्था अवलोकनका लागि आएका हौँ’ मन्त्री श्रेष्ठले भन्नुभयो, ‘एयरपोर्ट निर्माण भएको लामो समय भएको रहेछ । निरीक्षण गर्दा बिस्तारको सम्भावना पनि छ । अब छिट्टै हामी ७२ सिटे जहाज अवतरण गर्नेगरी एयरपोर्टको धावनमार्ग बिस्तारमा लाग्छौँ ।’

वि।सं। २०१७ सालदेखि नियमित सञ्चालनमा आएको एयरपोर्टको स्तरवृद्धि हुन नसक्दा नियमित उडान हुन नसकेको स्थानीयको बुझाइ छ । मन्त्री श्रेष्ठले नेपालको भौगोलिक अवस्थाका कारण सबै क्षेत्रलाई जोड्न हवाई सेवा उपयुक्त रहेकाले देशका विभिन्न ठाउँमा एयरपोर्ट बनाउन लागिएको बताउनुभयो ।

यसैबीच सहरी विकास मन्त्री मेटमणि चौधरीले टरिगाउँ एयरपोर्ट बनाउने सवालमा सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । भएको एयरपोर्टको विकास भन्दा पनि नयाँ एयरपोर्ट बनाउनतिर ध्यान दिँदा अहिले भएको एयरपोर्टको स्तरोन्नति हुन नसकेको उहाँको भनाइ छ ।

एयरपोर्ट बनेको लामो समय भइसक्दा पनि एयरपोर्टको सुधार नहुनु लज्जाबोध भएको मन्त्री चौधरीले बताउनुभयो । ‘टरिगाउँ एयरपोर्ट स्थापना भएको लामो समय भइसक्दा सुधार हुनुको सट्टा झन् खस्किँदै जाँदा लज्जाबोध भइरहेको छ’ मन्त्री चौधरीले भन्नुभयो, ‘जिल्लावासी भएर पनि म काठमाडौँ जाँदा आउँदा बाँके वा भैरहवाबाट यात्रा गर्नुपर्दा पीडाबोध हुनेगरेको छ ।’

मन्त्री चौधरीले जिल्लामा भएको एउटा एयरपोर्ट विस्तार गर्न नसक्ने दाङले कस्ता नेता जन्माएको रहेछ भन्ने लाग्नेगरेको बताउनुभयो । ७२ सिटे प्लेन बस्न सक्नेगरी टरिगाउँ एयरपोर्टको धावनमार्ग बिस्तारको काम अगाडि बढ्ने र त्यसका लागि पैसाको अभाव हुन नदिने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

त्यसैगरी स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीले टरिगाउँ एयरपोर्टको विस्तारका लागि सबै सकारात्मक बन्न आवश्यक रहेको बताउनुभयो । केसीले टरिगाउँदो एयरपोर्टको विकास हुन सके दाङको विकासले गति लिने बताउनुभयो ।

प्रकाशित मिति : ६ आश्विन २०७९ बिहिबार ००:००  ५ : ४४ बजे