१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

इङ्ग्यान्डसँगको तेस्रो टी–२० खेलमा पाकिस्तान पराजित



काठमाण्डौ ।

इङ्ग्यान्डसँगको तेस्रो टी–२० क्रिकेटमा पाकिस्तान पराजित भएको छ । गएराति कराचीमा भएको खेलमा पाहुना टोली इङ्ग्यान्डले पाकिस्तानलाई ६३ रनले हराएको हो । जितसँगै ७ खेलको शृङ्खलामा इङ्ग्यान्डले २–१ को अग्रता बनाएको छ ।

इङ्ग्यान्डले दिएको २ सय २२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५८ रन मात्रै बनाउन सक्यो । पाकिस्तानका शान मसुदले अविजित ६६ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् ।

इङ्ग्यान्डका मार्क उडले ३ तथा आदिल रसिदले २ विकेट लिए । साम करन र रिच टोप्लेले समान १र१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको इङ्ग्यान्डले २० ओभरमा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको थियो । इङ्ग्यान्डका बेन डुकेट र ह्यारी ब्रुक्सले अविजित अर्धशतकीय पारी खेले ।

डुकेटले ७० तथा ब्रुक्सले ८१ रन जोडे । पाकिस्तानका उस्मान कादिरले २ तथा मोहम्मद हुसाइनले १ विकेट लिए । दोस्रो टी–२० मा घरेलु टोली पाकिस्तानले १० विकेटको कीर्तिमानी जित निकालेको थियो भने पहिलो खेलमा इङ्ग्यान्ड ६ विकेटले विजयी भएको थियो । दुई देशबीचको चौथो टी–२० भोलि हुनेछ।

प्रकाशित मिति : ८ आश्विन २०७९ शनिबार ००:००  ६ : ४४ बजे