४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

बाबुरामको पार्टीले राखेको कार्यक्रममा पुगेर प्रचण्डले भनेः बाबुरामसँगको सहकार्य चुनावसम्म मात्र होइन



काठमाडौं ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले ‘प्रचण्ड’ले डा. बाबुराम भट्टराईसँगको सहकार्य निर्वाचनसम्मका लागि मात्र नभएको बताएका छन् । भट्टराईसँगको सहकार्य आसन्न चुनावसम्म मात्र नभई धेरै लामो हुने उनले उल्लेख गरे ।

शनिबार भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा प्रचण्डले आफूहरू एक्लाएक्लै हिँड्दा केही वर्षयता सफलता हासिल नभएको बताए । अब फेरि आफूहरू सहकार्यमा आएको स्पष्ट पारे ।

मुलुकको समृद्धिको नयाँ समाजवादी मोडल बनाएर मात्र आफूहरूले मर्न चाहेको भन्दै उनले त्यो संकल्प पूरा गर्ने काममा साथ दिन जनतालाई आह्वान गरे ।

“यो देशलाई फेरि एकचोटि समृद्धिको, विकासको, समाजवादको एउटा नयाँ मोडेल हामीले नै दिनुपर्ने हुन्छ, हामीले नै दिन्छौँ । किनभने, यो परिवर्तनको बाहक हुनुको नाताले, त्यसको नेतृत्वको टिम हुनुको नाताले हामीले त्यसको जियोमेट्रिकल्ली निकै ठूलो हुन्छ भन्ने निष्कर्षमा हामी पुगेका छौँ । र, हामी हिजो पनि एकार्काको पूरक भएर हामीले आन्दोलनलाई यहाँसम्म ल्याएको हो,” उनले भने, “बानी, व्यहोरा र स्वभावको हिसाबले बाबुरामजीको र मेरो धेरै मिल्दैन । तर, फेरि हामी दुइटा एक ठाउँमा हुँदा एकको अभाव अर्कोले पूर्ति गरिदिने, अर्कोको अभाव अर्कोले पूर्ति गरिदिने एउटा ठूलो शक्ति र तागत भएको थियो ।”

उनले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि नेतृत्वदायी भूमिका निर्वाह गरेका आफूहरूले नयाँ समाजवादी मोेडल तय गरी मुलुकलाई समृद्ध बनाउन पनि सफल हुने जिकिर गरे ।

प्रकाशित मिति : ८ आश्विन २०७९ शनिबार ००:००  ३ : १२ बजे