८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

आज ज्येष्ठ नागरिक दिवस मनाइँदै



काठमाण्डौ ।

आज अक्टोबर १ तारिख अर्थात्, अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदैछ । सन् १९९१ देखि हरेक वर्ष अक्टोबर १ तारिखलाई ज्येष्ठ नागरिक सम्मान र अधिकारमा पहुँच पुर्याउने उद्देश्यका साथ संयुक्त राष्ट्र सङ्घको आह्वानमा विश्वभर यो दिवस मनाउने गरिन्छ ।

नेपालमा पनि गएको डेढ दशकदेखि यो दिवस मनाउन थालिएको हो । यस वर्ष ‘परिवर्तनशील विश्वमा ज्येष्ठ नागरिकप्रति लचिलोपन’ भन्ने अन्तर्राष्ट्रिय नारा र ‘ज्येष्ठ नागरिकको उत्थानशीलता स् बदलिँदो विश्वको लागि अपरिहार्यता’ भन्ने राष्ट्रिय नाराकासाथ विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ । नेपालको संविधान २०७२ ले ज्येष्ठ नागरिकको हकलाई मौलिक हकको रूपमा व्यवस्था गरी उनीहरूलाई राज्यको तर्फबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने कुराको प्रत्याभूति गरेको छ ।

नेपालमा ज्येष्ठ नागरिकको सङ्ख्या झण्डै ३० लाखको हाराहारीमा छ । सरकारको तर्फबाट २०५१ सालमा मासिक एक सय रुपैयाँबाट सुरु गरिएको ज्येष्ठ नागरिक भत्ता अहिले चार हजार रुपैयाँ पुर्याइएको छ । यस्तै ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरी सार्वजनिक गाडीमा ज्येष्ठ नागरिकका लागि सिट आरक्षण तथा ५० प्रतिशत भाडा छुट दिने व्यवस्था गरिएको छ ।
यस्तै सार्वजनिक ठाउँमा सेवा लिँदा लाइन बस्न नपर्न र सरकारी अस्पतालमा ज्येष्ठ नागरिकको उपचार गर्दा औषधिउपचारमा सहुलियत दिने व्यवस्था पनि छ । तर ज्येष्ठ नागरिकले कतिपय सेवा सुविधा नपाएको गुनासो गर्दै आएका छन् ।

ज्येष्ठ नागरिक दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना व्यक्त गरी ज्येष्ठ नागरिकको सम्मानपूर्ण जीवन सुनिश्चित गर्नु सबैको कर्तव्य भएको बताउनुभएको छ । उहाँले ज्येष्ठ नागरिकलाई सार्वजनिक सेवामा सहज पहुँच सुनिश्चित गर्न गरिएका व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न ध्यानाकर्षण समेत गराउनुभएको छ ।

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठ नागरिकको संरक्षणको लागि घरपरिवारदेखि राज्यतहसम्मका सबै संयन्त्र र संरचना सक्रिय र सहयोगी रहनुपर्नेमा जोड दिनुभएको छ । शुभकामना सन्देशमार्फत् उहाँले विभिन्न ज्ञान, सिप र अनुभव सँगाल्नुभएका सम्पूर्ण ज्येष्ठ नागरिकमा सुख, शान्ति र सुस्वास्थ्यको कामना गर्नुभएको छ।

प्रकाशित मिति : १५ आश्विन २०७९ शनिबार ००:००  ८ : ३० बजे