२७ भाद्र २०८१, बिहिबार | Fri Sep 13 2024

अविरल बर्षाले कारण पश्चिम तराई जलमग्न



बुटवल ।
पश्चिम तराईका अधिकांश जिल्लामा अविरल वर्षाका कारण जनजीवन प्रभावित बनेको छ ।

पश्चिम तराईका बर्दिया, बाँके, कैलाली र कञ्चनपुरलगायतका जिल्लामा केही दिन यता भइरहेको अविरल वर्षाका कारण बस्ती डुबानमा पर्नसक्ने अवस्था सिर्जना भएको छ ।

वर्षाका कारण नदी र खहरे खोलामा बाढी आएकाले होचो भूभाग डुबानमा पर्ने जोखिम देखिएको हो । गत मंगलवार साँझदेखि परेको अविरल वर्षाले गर्दा नेपालीहरूको महान पर्व बडादशैं पनि राम्रोसँग मनाउन नसकेको स्थानीयहरू बताउँछन् । देशभरि नै चाडपर्वको समयमा आफन्त, इष्टमित्र, मान्यजनको हातको टीका थाप्न र आर्शिवाद लिन वर्षाका कारण कठिनाइ भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रवार राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका धेरै र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

तीन दिनदेखि परेको निरन्तर वर्षाको कारण देशभरका विभिन्न सडक अवरुद्ध हुँदा दशैं मनाउन गाउँ गएकाहरू शहर फर्किन पाएका छैनन् भने गाउँमै दशैंको टीका ग्रहण गर्न पनि आफन्तकोमा जान सकेका छैनन् ।

प्रकाशित मिति : २१ आश्विन २०७९ शुक्रबार ००:००  ५ : २६ बजे