४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

संसदको ५ बर्षे कार्यकालमा बलदेवले गरे यी महत्वपूर्ण ५ काम



मायादेवी अनलाइन, तौलिहवा ।
आसन्न मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य पदको चुनावी सरगर्मी कपिलवस्तुमा बढेको छ ।

सत्तारुढ चार दलीय गठबन्धन र नेकपा एमाले बीच कडा प्रतिस्पर्धा मानिएको यो निर्वाचनमा कपिलवस्तु-१ लाई विशेष चासो पूर्वक हेरिएको छ ।

सत्ता–साझेदार र प्रमुख प्रतिपक्षी बीचको रोचक भिडन्तलाई जिल्लाका अधिकांशले निकै चाँसो पूर्वक हेरेका हुन् ।

२०७४ सालको संसदीय अभ्यासमा ‘डेब्यु’ गरी संघीय कृषि तथा पशुपंक्षी बिकास मन्त्रीको रुपमा जिम्मेवारी निभाईसकेका नेकपा माओवादी केन्द्रका सचिव चक्रपाणी खनाल ‘बलदेव’ ले संसद प्रवेशको दोस्रो इनिङ्गको तयारी रहेका छन् ।

बर्तमान बाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेद्वार ‘बलदेव’ ले कपिलबस्तुको समग्र बिकासका लागि आफ्नो उम्मेद्वारी रहेको तर्क गर्छन् । निर्वाचन क्षेत्र आफ्नो एक परेता पनि जिल्लाका सबै तीनवटै क्षेत्रको समानुपातिक बिकासका लागि गठबन्धनलाई मतदात गर्नुपर्ने उनको आग्रह छ ।

२०७० सालको निर्वाचन असफलता बेहोर्न बाध्य भएका बलदेवले आफ्नो निर्वाचन क्षेत्रमा पूर्वाधार बिकासका लागि उचित र सक्दो सहयोग गर्दै जनमनमा बस्न सफल नेताका रुपमा छबि बनाएका थिए । सडक, पुल, सिंचाई, शिक्षा लगायतको समग्रतामा बिकास र उन्नतिमा उनको प्रत्यक्ष सहभागिता रहेको पाइन्छ ।

यहाँ मुख्यतः बलदेवले संसदमा निर्वाचन भएपश्चात ५ बर्षमा गरेका मूल कामहरुको चर्चा गरिएको छ । संघीय कृषि मन्त्रीको जिम्मेवारी बहन गरेपश्चात बिशेषतः कृषि, सिंचाई र पूर्वाधार बिकासका उल्लेख्य काम गरेका बलदेवले आगामी ५ बर्षमा जिल्लामा असोँचनिय बिकासको लहर पैदा गर्ने प्रतिबद्धता गरेका छन् ।

संघीय संसदमा ‘डेब्यु’ गरेपछिका ५ बर्षे कार्यकालले जिल्लाको क्षेत्र नम्बर १ मा बिकासको लहर पैदा गरेको अनुभव स्थानीय गरेका छन् । उनले बिशेषतः जिल्लाको दक्षिणी क्षेत्रदेखि उत्तरी क्षेत्रसम्म समानान्तर बिकासमा उच्च लगानी र सहभागितामा अभिबृद्धि गरेको अगुवा ब्यक्तिहरुको ठहर छ । जिल्लाको बाणगंगा, शुद्धोधन, मायादेवी र कपिलवस्तु पालिकाहरुमा प्राथमिकीकरणका आधारमा कृषि, सिँचाई र पूर्वाधार, शिक्षा क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरेका छन् ।

तत्कालिन कृषि तथा पशुपंक्षी बिकास मन्त्री हुँदा बलदेवले कपिलबस्तुमा ३ अर्ब ६४ करोड २२ लाख बजेट भित्र्याएका थिए ।

कृषि उपज तथा कृषि पूर्वाधार बिकासमा पूर्वमन्त्री बलदेवले मुख्य रुपमा यी कार्यहरु सम्पन्न गरेका छन् ।

१- जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर ३ र ११ सिमाना हथौसामा शीतभण्डार सहितको कृषि उपज बजार पूर्वाधार निर्माणको लागी उनले संघीय सरकारको तर्फबाट ५२ करोड लगानी गरेका छन् । जसबाट कृषकले उत्पादन गर्ने कृषि उपजको प्रभावकारी ब्यबस्थापनमा सहायता पुग्ने देखिन्छ ।

२- सिंचाइ सुविधा नपुगेका किसानलाई लक्षित गरेर कपिलवस्तुमा पहिलो पटक डिप ट्युबवेल (बोरिङ्ग) जडान कार्यक्रमको शुरुवात समेत बलदेवले गरेका हुन् । कृषि यान्त्रिकरण प्रवर्द्धन परियोजनाअन्तर्गत पहिलो डिप ट्युबवेल जडान कपिलबस्तुको शुद्धोधन गाउँपालिका–४ बिठुवामा संचालन गरिएको छ । कुल ७५ लाख लागत रहेको ट्युबवेलबाट सिंचाई सुविधाको सहज पहुँचका लागि सुविधायुक्त भएको स्थानीय बताउँछन् ।

सिंचाई सुविधालाई सहज तुल्याउनका लागी कपिलबस्तुको निर्वाचन क्षेत्र १ मा १८ वटा डिपबोरिङ्ग र २ हजार डिप ट्युवेल जडान गरि कार्यान्वयन अवस्थामा रहेका छन् । प्रति डिप ट्युबवेल ७५ लाख रुपैयाँको लागत रहेको परियोजना अन्तर्गत डिप बोरिङ्ग, पम्प हाउस, विद्युतीकरण, पम्प जडान र भूमिगत कुलो निर्माण गरि कृषकलाई खेतीपातीमा सहयोगसिद्ध भएको छ ।

३- मधेसमा छात्राहरुका लागी सुविधा होस् भन्नका लागी कपिलबस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर ४ मा कन्या कलेजको स्थापना गरिएको छ । पुरुषको तुलनामा महिलाको शैक्षिक स्तर कमजोर रहेको उल्लेख गर्दै महिलालाई मात्रै लक्षित गरेर बिद्यालय सञ्चालन गर्ने प्रयासले महिलाको शैक्षिक स्तर सुधारमा महत्वपूर्ण रहने उदेश्य अनुरुप कलेजको स्थापना गरिएको हो ।

करिव १ बिगाहा ४ कट्ठा जग्गामा छात्रा भवन निर्माण गरि छुट्टै छात्रा सेक्सन सञ्चालन गरिएको छ । प्रतिनीधि सभामा निर्वाचित तत्कालिन कृषि मन्त्री चक्रपाणी खनाल (बलदेव)को संसदीय क्षेत्र बिकास कोषको ५० लाख रुपैंयाबाट कन्या क्याम्पसका लागि भवन निर्माण गरि हाल पठनपाठन गरिएको प्रधानाध्यापक लालचन्द्र पाण्डेयको भनाइ छ ।

४- कपिलवस्तुका बहुवर्षीय योजनाका सडकको निर्माण कार्यको प्रारम्भकर्ताको संज्ञा ‘बलदेव’लाई दिइने गरिएको छ । सडक पूर्वाधारतर्फ बर्रोहिया–जयनगरा सडकको निर्माण तथा स्तरोन्नति समेत बलदेव मन्त्री भएका बखत संचालन गरिएको थियो । बलदेवकै संसदीय बिकास कोष मार्फत निर्माण सम्पन्न गरिएको बर्रोहिया–जयनगरा सडक स्तरोन्नति भएसँगै यहाँका स्थानीयले प्रत्यक्ष उपभोग गर्न पाएका छन् । साथै कृषक एवं ब्यापारीलाई निक्कै सहज बनेको स्थानीय ब्यापारीहरुको भनाइ छ ।

यसैगरी बलदेवले शुद्धोधन गाउँपालिका– ६, सन्तघाट बेलभरिया, मोतीपुर पुल, मायादेवी गाउँपालिका ३, फुलिका पुल, मुगहरि पुल लगायतका पूर्वाधार निर्माणमा लगानी गरि कार्यान्वयनमा रहेका छन् ।

५- बलदेवको ५ बर्षे कार्यकालमा कृषि, सिंचाई, शिक्षा, पूर्वाधार बिकासमा उल्लेख्य कार्य गरेसँगै नीतिगत परिवर्तनमा समेत काम गरेका छन् । जनप्रतिनिधिको रुपमा ‘डेब्यु’पछिको मन्त्री बन्न सफल बलदेवले कृषि क्षेत्रमा अतुलनीय र ऐतिहासिक कार्य गरेका छन् । आत्मनिर्भरताको सफल अभियानलाई निरन्तरता दिने क्रममा उनले कृषि उत्पादन प्रवद्र्धन, खसिबोका आयातमा नियन्त्रण, धुलोदुुध आयातमा नियन्त्रण, बिषादि नियन्त्रण अभियानलाई ऐतिहासिक कार्यका रुपमा दस्तावेजीकरण गर्नु उपयुक्तता रहने देखिन्छ ।

यसर्थ, ५ बर्षे संघीय सांसदको रुपमा जिम्मेवारी निर्वाह गरेका उनै बलदेव आमनिर्वाचन २०७९ को महासंग्राममा उत्रिएका छन् । केन्द्रिय स्तरमा राम्रो पकड कायम राख्ने बलदेव बर्तमान सत्तासाझेदार बाम–लोकतान्त्रिक गठबन्धन तर्फबाट कपिलबस्तु–१ मा प्रतिनिधी सभा सदस्यका उम्मेद्वार समेत रहेका छन् ।

यसपटकको निर्वाचनमा तपाईको उम्मेद्वारी किन भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘राष्ट्रिय आवश्यकता र हितका लागी उम्मेद्वारी दिएको छु, प्रतिगमनबिरुद्ध सशक्त रुपमा लड्नुपर्ने अवको कार्यदिशा हो ।’

जिल्लाको समग्र बिकासमा आफ्नो ध्यान र चाँसो रहेको तर्फ बलदेवकोे इंगित रहेको छ । बिशेषतः मधेश अर्थात जिल्ला दक्षिणी सिमावर्ती क्षेत्रहरुको चौतर्फी बिकास, समृद्धि र पहुँचमा दख्खल राख्ने बलदेवका दक्षिण तर्फका कार्यहरु उदाहरणीय रहेका छन् ।

प्रकाशित मिति : ८ कार्तिक २०७९ मंगलबार ००:००  ४ : ३३ बजे