५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

महोत्तरीको भङ्गाहामा कर्फ्यु हट्यो



महोत्तरी ।

महोत्तरीको भङ्गाहा नगरपालिका– ८ पररिया टोलमा जिल्ला प्रशासनले लगाएको कर्फ्यु गएराति १० बजेदेखि हटाइएको छ ।

दुई पक्षबीच झडप भएपछि स्थानीय प्रशासनले अस्ति बिहीवार दिउँसो ४ बजेदेखि कर्फ्यु लगाएको थियो । अहिले स्थिति सामान्य भएको भन्दै प्रशासनले कर्फ्यु हटाएको हो ।

घटनाको छानबिन गर्न गृह मन्त्रालयले सहसचिव शिवराम पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।

समितिमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक किशोर प्रधान, राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशक विष्णुमणि आचार्य र गृह मन्त्रालयका उपसचिव विश्वराज मरासेनी सदस्य छन् ।

यस्तै, हिजो प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले सामाजिक सद्भाव कायम राख्न सबैले आआफ्नो ठाउँबाट पहल गर्ने निर्णय भएको छ । भङ्गाहा– ८ को पररिया टोलमा दुई पक्षबीच भएको झडपमा १५ जनाभन्दा धेरै घाइते भएका थिए ।

प्रकाशित मिति : १२ कार्तिक २०७९ शनिबार ००:००  ७ : ०४ बजे