२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

छठ हेर्न गएका बालकको छुरा प्रहार गरी हत्या



विराटनगर ।

मोरङको उर्लाबारीमा छठ पूजा हेर्न आएका झापाका बालकको छुरा प्रहारबाट हत्या भएको छ ।

मोरङ र झापाको सीमाना भएर बग्ने मावा खोलामा आयोजित छठ मेलामा आएका १४ वर्षीय दियुस श्रेष्ठको छुरा प्रहारबाट हत्या भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक एसपी शान्तिराज कोइरालाले बताए ।

एसपी कोइरालाका अनुसार उर्लाबारी नगरपालिका(७ मावा खोलाको किनारमा आयोजित छठ पूजाको मेला स्थलमा झापाको दमक नगरपालिका-१० का १४ वर्षीय श्रेष्ठमाथि छुरा प्रहार भएको थियो ।

छुरा प्रहारबाट गम्भीर घाइते उनलाई उपचारका लागि उर्लाबारीको गोदाबारी अस्पताल हुँदै विर्तामोडको बिएण्ड सी अस्पताल पुर्‍याइएको थियो । बीएण्डसीमा उपचारका क्रममा सोमबार विहान उनको मृत्यु भएको हो ।

घटनाको अनुसन्धानका लागि चार जनालाई नियन्त्रणमा लिइएको छ भने घटनामा संलग्न अन्यको खोजी भइरहेको एसपी कोइरालाले बताए ।

‘पुरानो रिसिईबिका कारण छुरा प्रहार भएको प्रारम्भिक अनुसन्धानका क्रममा देखिन्छ,’ कोइरालाले भने,‘ मृतक बालकको साथबाट पनि धारिलो हतियार भेटिएको रहेछ ।’

मावा खोलामा किनारमा आइतबार राति १०:२५ बजे उनीमाथि छुरा प्रहार भएको थियो । पुरानो रिसिईबीका कारण हत्या भएको प्रारम्भीक अनुसन्धानका क्रममा देखिएको मोरङका प्रहरी उपरीक्षक कोइरालाले बताए ।

प्रहरीका अनुसार छुरा प्रहारबाट बालकको बायाँ कोखामा गम्भीर चोट लागेको थियो ।

प्रकाशित मिति : १४ कार्तिक २०७९ सोमबार ००:००  १ : ३६ बजे