२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

एकीकृत समाजवादीको घोषणा : जनजनमा सेयर, २०० युनिटसम्मको बिजुली निःशुल्क



काठमाडौं ।

नेकपा एकीकृत समाजवादी पार्टीले निरपेक्ष गरिबीको रेखामुनि रहेका व्यक्तिहरूलाई जलविद्युत् कम्पनी सेयरधनी बनाउने घेषणा गरेको छ । सोमबार संघीय र प्रदेशसभा निर्वाचनको चुनावी घोषणापत्र सार्वजनिक गर्दै ‘घरघरमा बिजुली–जनजनमा सेयर’ नीति लागु गर्ने बताएको हो ।

आकर्षक प्रतिफल दिने जलविद्युत् परियोजनामा जनता र सरकारको संयुक्त लगानी प्रबर्द्धन गर्ने गरी व्यवस्था मिलाइने घोष्णापत्रमा उल्लेख छ । यस्ता परियोजनामा लगानी गर्न स्वदेश र प्रवासमा रहेका नेपाली नागरिक तथा गैरआवासीय नेपालीहरूलाई प्रोत्साहित गर्ने र निरपेक्ष गरिबीको रेखामुनि रहेका व्यक्तिहरूलाई पनि सेयर उपलब्ध गराउन विशेष वित्तीय व्यवस्था गर्न पहल गर्ने समाजवादीको घोषणापत्रमा उल्लेख छ ।

नेपालको पूर्ण क्षमता अनुसारको जलविद्युत् उत्पादन गर्न र उत्पादित विद्युतको उपयोग तथा व्यापारका लागि सरकारी, सहकारी, निजी क्षेत्रलाई संलग्न गराउने तथा स्वदेशी लगानीमा निर्माण गर्न समय लाग्ने परियोजनाहरू राष्ट्रिय हित अनुकुल हुने गरी अन्तर्राष्ट्रिय समुदायलाई निर्माणको जिम्मा दिने व्यवस्था गर्न पहल गर्ने उल्लेख छ ।

तीनै तहको सरकारको सहकार्यमा हरेक घर–परिवारलाई मासिकरूपमा २०० युनिटसम्म विद्युत् महसुलमा छुट दिने तथा गरिबीको रेखामुनि रहेका परिवारलाई विद्युत् लाइन जडान र बिजुली उपभोगमा सहुलियत दिन पहल गर्ने समाजवादीले घोषणा गरेको छ ।

यस्तै सहर तथा ग्रामीण क्षेत्रका सम्पूर्ण विद्युत् प्रसारणलाइन भूमिगत गर्ने घोषणापत्रमा उल्लेख छ । ‘विद्युत् चुहावट रोक्न र जोखिम न्यून गर्न अत्याधुनिक प्रविधियुक्त सुरक्षित तार उपयोग गर्ने र सहर तथा ग्रामीण क्षेत्रमा प्रयोग हुने सम्पूर्ण विद्युत् प्रसारण लाइन भूमिगत गर्न जोड दिइने छ’ घोषणापत्रमा भनिएको छ ।

ग्रामीण विद्युतीकरणलाई अभियानका रूपमा सञ्चालन गर्ने र विशेष आर्थिक क्षेत्रहरू तथा उद्योग ग्रामहरूका लागि डेडिकेटेड विद्युत् लाइन जडान गरिने छ । आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न राष्ट्रिय उद्योगहरूलाई प्रोत्साहन गरी महसुलमा छुट दिने व्यवस्था मिलाइने घोषणापत्रमा उल्लेख छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७९ सोमबार ००:००  ३ : ५३ बजे