४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

लुम्बिनी प्रदेशको राजधानी अन्यत्रै सार्न विष्णु पौडेलले भूमिका खेलेः थापा



बुटवल ।

सत्तारुढ गठबन्धनको साथ आएका राष्ट्रिय जनमुक्ति पार्टीका रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका उम्मेदवार केशबहादुर थापाले एमाले उपाध्यक्ष विष्णु पौडेलले लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट अन्यत्रै सार्न भूमिका खेलेको आरोप लगाएका छन् । पौडेल सोही क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवार छन् ।

चुनावी प्रचार अभियानलाई तीब्रता दिएका थापाले मंगलबार आयोजित घरदैलो कार्यक्रममा बोल्दै पौडेलकै अगुवाइमा लुम्बिनी प्रदेशको राजधानी दाङको अन्कन्टार ठाउँमा लैजाने लैजान काम भएको बताए । उनले मुलुकलाई राष्ट्रिय सहमतिका साथ अघि बढाउन पनि सत्तारुढ दलहरुले मिलेर चुनावमा लड्नु परेको दावी गरे ।

संविधानको रक्षा गर्न, संघीयता, गणतन्त्र र समावेशीताको रक्षा गर्न आसन्न निर्वाचनमा सत्तारुढ गठबन्धनले जित्नुपर्ने उनको भनाइ थियो । थापाले भने, ‘भूमिहीन सुकुम्बासीको बारेमा कुनै पनि सुनुवाइ नहुने । हाम्रो ठाउँमा बाचा गरिएको प्रदेशको राजधानी रातारात खोसेर कुनै अनकन्टार ठाउँमा लगेर सार्ने यस्ता खालका राजनीतिक बेइमानहरुले हातमा सत्ता जाने खतरा छ । त्यसबाट हामीले आफ्नो अभिमत जोगाउनु पर्छ र, म यहाँहरूलाई भन्न चाहन्छु–हामी गठबन्धनको एउटा साझा संकल्प छ–संविधानको रक्षा गरेर देशमा आजसम्म हामीले जुन आन्दोलन गर्‍यौँ । संघर्ष गर्‍यौं, क्रान्ति गर्‍यौ ।

बलिदानबाट जे–जे उपलब्धि प्राप्त गर्‍यौं । त्यसलाई त जोगाउनु पर्‍यो नि । त्यो उपलब्धिलाई जोगाएर नपुगेका केही कुराहरु छन भने एउटा राष्ट्रिय सहमतिको बाटोबाट अगाडि बढनु पर्‍यो नि । मुलुकलाई आजसम्म औद्योगिकीकरणको बाटोमा लैजान सकिएको छैन । जबसम्म औद्योगिक युगमा लैजान सकिँदैन, रोजगारी पनि सृजना हुँदैन । मुलुकलाई सबै मिलेर राष्ट्रिय सहमतिका साथ अघि बढाउने हो । त्यसका लागि गठबन्धन गरिएको हो ।’

थापाले आफूहरुले चुनाव जितेमा रोजगारीको अवसर सृजना गर्ने, शिक्षा र स्वास्थ्य क्षेत्रलाई सुलभ बनाउने, औद्योगिकीकरण, वन र वातावरणको संरक्षण गर्दै मुलुकलाई समृद्ध बनाउने आश्वासन समेत दिए । त्यस क्षेत्रमा रहेका सुकुम्बासी समस्या समाधान गर्ने उनले प्रतिवद्धता पनि व्यक्त गरे । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति : २२ कार्तिक २०७९ मंगलबार ००:००  ५ : २६ बजे