२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

भक्तपुरमा समानुपातिकतर्फ नेमकिपा पहिलो



काठमाण्डौ ।

मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ भक्तपुरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) पहिलो दल बनेको छ । प्राप्त मतका आधार नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चौँथो ठूलो दल बनेको छ । त्यसैगरी नेकपा एमाले दोस्रो ठूलो दल बन्दा नेपाली कांग्रेस भने तेस्रो ठूलो दल बनेका छन् ।

प्रतिनिधिसभाका दुई वटा निर्वाचन क्षेत्र रहेको भक्तपुरमा नेमकिपाले १ नम्बर क्षेत्रबाट ३२ हजार ९ सय ४ र क्षेत्र नम्बर २ बाट ७ हजार ८ सय ६३ मत प्राप्त गर्दै कुल ४० हजार ७ सय ६७ मतका साथ पहिलो दल बनेको हो । नेमकिपाले क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्य र प्रदेश सभा ‘ख’ को सदस्यमा विजय हासिल गरेको थियो ।

यस्तै प्रदेशसभामा एक सदस्य जितेको नेकपा एमालेले समानुपातिकतर्फ २६ हजार ७० मत प्राप्त गरेको छ । एमालेले क्षेत्र नम्बर १ बाट ८ हजार १ सय ९४ र क्षेत्र नम्बर २ बाट १७ हजार ८ सय ७६ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भिमबहादुर बिसीले बताउनुभयो ।

त्यसैगरी नेपाली कांग्रेसले २३ हजार ७ सय ६९ र रास्वपाले २३ हजार ६ मत ल्याइ क्रमशः तेस्रो र चौँथो दल बनेका छन् । कांग्रेसले क्षेत्र नम्बर १ बाट ८ हजार ८ सय ७५ र क्षेत्र नम्बर २ बाट १४ हजार ८ सय ९४ मत प्राप्त गरेको बिसीले जानकारी दिनुभयो । रास्वपाले क्षेत्र नम्बर १ बाट ११ हजार ११० र क्षेत्र नम्बर २ बाट ११ हजार ८ सय ९६ मत प्राप्त गरेको छ ।

यस्तै राप्रपाले ११ हजार ३ सय ९२ मत प्राप्त गरेको छ । राप्रपाले क्षेत्र नम्बर १ बाट ५ हजार ९ सय ३ र क्षेत्र नम्बर २ बाट ५ हजार ४ सय ८९ मत प्राप्त गरेको छ । नेकपा माओवादी केन्द्रले क्षेत्र नम्बर १ बाट १ हजार ३ सय ६७ र क्षेत्र नम्बर २ बाट ५ हजार ४ सय ८९ सहित कुल ४ हजार ९८ मत प्राप्त गरेको छ भने नेकपा एकिकृत समाजवादीले २ हजार १ सय ५२ मत प्राप्त गरेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७९ आइतबार ००:००  ७ : ५५ बजे