१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

गठबन्धनमा समस्या आएको स्थायी कमिटी बैठकमा प्रचण्डको ब्रिफिङ



काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनमा नै समस्या आएको बताएका छन् ।

आज पार्टी कार्यालय पेरिसडाँडामा बसको स्थायी कमिटी बैठकमा उनले गठबन्धनमा समस्या आएको बताएका हुन् ।

बिहान ११ लागि बोलाइएको बैठक अपराह्न ४ बजेका लागि सारिएको थियो । अपराह्न औपचारिक विषयमा प्रवेश नगरी बैठक सकिएको छ ।

उनले गठबन्धनमा समस्या आएकाले छलफलमा जुट्नुपर्ने भएकाले आफूलाई समय चाहिएको बताएका एक नेताले जानकारी दिए । स्थायी कमिटी बैठक भोलि ३ बजे बस्ने भएको छ ।

“रास्वपाको मात्रै कुरा होइन, गठबन्धनमा समस्या आयो । मलाई छलफलका लागि समय चाहियो । भोलि ३ बजे बैठक बसौं भन्ने कुरा भयो । आज बैठक औपचारिकतामा प्रवेश गरेन,” प्रचण्डले बैठकमा भनेका थिए ।

माओवादी गृह मन्त्रालय छाड्न नहुने पक्षमा छ । एमाले अध्यक्ष केपीशर्मा ओलीले विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दैै गृह मन्त्रालय रास्वपाले नै पाउनुपर्ने बताएका थिए ।

सरकारमा सहभागिताबारे निर्णय गर्न अहिले रास्वपाको बैठक बसिरहेको छ । उक्त बैठकको निर्णय हेरेर अघि बढ्ने कुरा भएको एक नेताले बताए ।

“रास्वपामा अहिले नै सरकार छाड्नुहुँदैन भन्ने मत बढेको सुनिएको छ । हामी सो बैठकको निर्णय कुरिरहेका छौं । सो बैठकको निर्णय हेरेर अघि बढ्छौं,” माओवादीका ती नेताले भने ।

ओलीको प्रतिक्रियाले थप जटिलता सिर्जना गरेको ती नेताको भनाइ छ ।

प्रकाशित मिति : १९ माघ २०७९ बिहिबार ००:००  ६ : ०८ बजे