१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

ओलीले पठाए माधव नेपाललाई पत्र, नेम्वाङलाई भोट दिन आग्रह



काठमाडौँ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको निर्वाचनमा सुवास नेम्वाङलाई भोट दिन आग्रह गर्दै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालाई पत्र पठाएका छन् ।

शनिवार एमालेको तर्फबाट उपाध्यक्ष नेम्वाङले राष्ट्रपतिको उम्मेदवारी दर्ता गरेसँगै अध्यक्ष ओलीले भोट माग्दै पत्र पठाएका हुन् । पत्रमा उनले अध्यक्ष नेपाललाई सम्बोधन गर्दै आम निर्वाचन २०७९ को नयाँ जनादेशअनुरूपको २०७९ पुस १० गते सरकार गठनका सन्दर्भमा भएको सहमति अनुसार एमालेबाट नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवारमा मनोनयन गरिएको जानकारी गराएका छन् ।

उनले नेपालको संविधानको मर्म र भावनाअनुरूप नेम्वाङ राष्ट्रपति पदलाई अत्यन्त योग्य एवं उपयुक्त उम्मेदवार रहेको बताउँदै राष्ट्रिय नेता नेपालको दलबाट नेम्वाङको पक्षमा मतदानका लागि पूर्ण सहयोग गर्न आग्रह गरेका छन् ।

अध्यक्ष ओलीले कांग्रेस बाहेकका अन्य दलका प्रमुखलाई सम्बोधन गर्दै नेता नेम्वाङलाई राष्ट्रपतिमा निर्वाचित गराउन आग्रह गर्दै पत्र लेखेका छन् । मनोनयन दर्ता गर्नुअघि ललितपुरको च्यासलमा बसेको पार्टीको सचिवालयको बैठकले कांग्रेसबाहेक सबै दललाई भोट माग्न पत्र लेख्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९ शनिबार ००:००  ५ : ५२ बजे