७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

विश्व च्याम्पियन इङ्ल्यान्डमाथि बङ्लादेशको ‘क्लिन स्वीप’



काठमाडौं ।
विश्व च्याम्पियन इङ्ल्यान्डसँगको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा बङ्लादेशले क्लीन स्वीप गरेको छ । तेस्रो तथा अन्तिम टी–२० क्रिकेटमा इङ्ल्यान्डलाई १६ रनले हराउँदै बङ्लादेशले तीन खेलको शृङ्खलामा क्लिन स्वीप गरेको हो ।

बङ्लादेशले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४२ रनमात्र बनाउन सक्यो । इङ्ल्यान्डका लागि डविड मालनले ५३ र जस बटलरले ४१ रन बनाए । बलिङतर्फ बङ्लादेशका तस्किन अहमदले २ तथा तनभिर इस्लाम, शाकिब अल हसन र मुस्ताफिजुर रहमानले १/१ विकेट लिए ।

यसअघि ढाकामा टस हारेर ब्याटिङ गरेको बङ्लादेशले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय ५८ रन बनायो । बङ्लादेशका लागि लिटन दासले ७३ र नजमुल होसैन शान्तोले नटआउट ४७ रन बनाए । बलिङतर्फ इङ्ल्यान्डका आदिल रशिद र क्रिस जोर्डनले १/१ विकेट लिए ।

बङ्लादेशले इङ्ल्यान्डलाई पहिलो खेलमा ६ विकेट र दोस्रो खेलमा ४ विकेटले हराएको थियो । इङ्ल्यान्ड सन् २०२२ मा भएको टी–२० विश्व कपको च्याम्पियन हो ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९ मंगलबार ००:००  ७ : ४२ बजे