१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

कर्णालीका मुख्यमन्त्री शर्मालाई विश्वासको मत



काठमाडौं ।
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाउनुभएको छ । सत्तामा सहभागी दलमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएपछि नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका शर्माले दोस्रो पटक विश्वासको मत लिनुभएको हो ।

शुक्रवार दिउँसो बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शर्मालाई चार दलका ३८ जना सांसदले विश्वासको मत दिएका हुन् । मतदानमा सहभागी ३९ जना सांसदमध्ये मुख्यमन्त्री शर्माको पक्षमा ३८ मत परेको छ भने विपक्षमा एक मतमात्रै परेको छ । उहाँले राप्रपाबाहेक सबै दल र स्वतन्त्र सांसदको मत प्राप्त गर्नुभएको छ ।

शर्मालाई नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका नौ, नेकपा एकीकृत समाजवादी र स्वतन्त्रतर्फबाट एकरएक जना सांसदले विश्वासको मत दिएका हुन् ।

यसअघि गएको पुस २७ गते शर्मा कर्णाली प्रदेशको तेस्रो मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । पुस १० गते एमालेसहितको गठबन्धन बन्दा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एकीकृत समाजवादी केन्द्रका २५ जनाको सांसदको समर्थनमा शर्मा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

प्रकाशित मिति : १८ चैत्र २०७९ शनिबार ००:००  ५ : ३० बजे