१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

कृषि उत्पादनमा देश निकै पछाडिः मन्त्री भुसाल



भक्तपुर ।
कृषि तथा पशुपक्षीमन्त्री डा बेदुराम भुसालले नेपालको कूल जनसङ्ख्याको ५१ प्रतिशत जनता कृषिमा निर्भर रहे पनि कृषि उत्पादनमा भने देश निकै पछाडि परेको बताएका छन्।

नयाँ वर्ष २०८० एवं भक्तपुरको बिस्केट जात्राका अवसरमा भक्तपुरमा आजदेखि सुरु भएको ‘सातौं भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव’को उद्घाटन गर्दै उनले कृषि उत्पादनमा देश पछाडि पर्दै गएको बताएका हुन्।

उनले भने, ‘नयाँ जनगणनाअनुसार नेपालको कूल जनसङ्ख्याको ५१ प्रतिशत जनता कृषिमा निर्भर छन् तर कृषि उतपादनमा राष्ट्रिय योगदान २४ प्रतिशतमात्रै छ, यसले प्रष्टरूपमा कृषि उत्पादन घट्दै गएको र परनिर्भरता बढ्दै गएको देखिन्छ, त्यसैले कृषि उतपादनलाई बढाउनुपर्‍यो।’

देशको अर्थतन्त्र सबल बनाउन, जीवन स्वस्थ बनाउन हाम्रा खेतीमा मौलिक उत्पादन बढाउन कृषि उत्पादनलाई बढाउन आवश्यक रहेको उल्लेख गर्दै उनले भक्तपुर जिल्ला कृषि उत्पादनमा अगाडि भएकाले जिल्लाका उत्पादन यस्तो महोत्सवमा छुट्न नहुने बताए। मन्त्री भुसालले भक्तपुरको आफ्नो मौलिक उत्पादन जुजु धौलाई महोत्सवमा छुटाउन नहुने र यस्ता उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने बताए।

कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले विगतका वर्षहरूमा जस्तै महोत्सवमा शान्तिपूर्ण ढंगले सहभागी हुन आग्रह गर्दै भक्तपुरको प्रसिद्ध बिस्काः जात्रालाई शान्तिपूर्णरूपमा सम्पन्न गराउन जात्रा अवधिभर मदिरा बिक्री–वितरणमा रोक लगाइएको जानकारी दिए।

प्रकाशित मिति : २३ चैत्र २०७९ बिहिबार ००:००  ८ : ५३ बजे