२९ बैशाख २०८१, शनिबार | Sat May 11 2024

चन्द्रौटामा सरुवा रोग अस्पतालको मन्त्री पन्थीद्धारा शिलान्यास



कपिलवस्तु ।
कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा प्रदेश स्तरीय सरुवा रोग अस्पताल बन्ने भएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री विष्णु पन्थीले अस्पतालको शिलान्यास गर्नु भएको छ ।

अस्पतालको शिलान्यास गर्नु हुँदै मन्त्री पन्थीले प्रदेश सरुवा रोग अस्पताल प्रदेशवासीका लागि गौरवको योजना रहेको बताउनुभयो । निर्माण हुने अस्पताल देशको महत्वपूर्ण अस्पतालको रूपमा विकास गरिने मन्त्री पन्थीले जानकारी दिनुभयो ।

सम्बोधनका क्रममा उहाँले लुम्बिनी प्रदेशका सबै जनतालाई स्वास्थ्य सेवाको प्रत्याभूति दिने गरी काम भएको बताउनुभयो । हरेक पालिकाको आफ्नै अस्पताल र लुम्बिनी प्रादेशिक अस्पताललाई एक हजार पाँच सयको शय्याको अस्पतालको रूपमा विकास गरिने क्रममा रहेको बताउनुभयो ।

सरुवा रोग अस्पतालमा भवन निर्माण नहुँदासम्म जग्गा लिजमा लिएर अस्पताल सञ्चालन हुने मन्त्री पन्थीका भनाइ छ । लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले ठेक्का भएको १३ महिनापछि भवन निर्माणको काम सुरु भएको बताउनुभयो । जग्गा प्राप्ति, आइई लगायतका प्रक्रियाले काम ढिलाइ भए पनि भवन निर्माणको काम निर्धारित समयमा सक्नेमा जोड दिनुपर्ने बताउनुभयो ।

शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापाले सरुवा रोग अस्पतालले नगरको गरिमा बढाउने बताउनुभयो । प्रदेश सरकारले डिपिआर गराई भवन निर्माणका लागि कपिलवस्तु निर्धारण भएको प्रदेश स्वास्थ्य सचिव डा. विनोद गिरीको भनाइ छ । डा. गिरीले अस्पताल भवन निर्माण निर्धारित समयमा सम्पन्न गरिने र प्रदेश सरकारबाट बजेटको सुनिश्चितता हुने बताउनुभयो ।

कोभिडको समयमा सङ्क्रमितले पाएको समस्याले गर्दा प्रदेश सरुवा रोग अस्पतालको अवधारणाको विकास भएको थियो ।

निर्माण हुने अस्पताल सुरुको चरणमा ५० शैय्याको हुने छ । भवन निर्माणको कुल लागत २० करोड ९६ लाख तीन हजार ३२६ रुपियाँ रहेको छ । २०८१ फागुनसम्म अस्पताल भवन निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ । अस्पताल निर्माणको ठेक्का स्काई सगुन जेभी बुटवलले पाएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७९ बुधबार ००:००  ८ : ०५ बजे